फेसबुक भर्सेस अस्ट्रेलिया: के हो लफडाको चुरो कुरो ?

समाचारको आम पहुँचका लागि विश्वभरका समाचार संस्थाले सामाजिक सञ्जाल फेसबुकको उपयोग गर्ने चलन लोकप्रिय छ । यसरी लोकप्रिय रहेका सामाजिक सञ्जालमा साझा (सेयर) गरिने समाचारलाई प्रयोगकर्ताले पुनः साझा गर्दा त्यस्ता सामग्री भाइरल बन्ने र त्यसको प्रभाव पनि उत्तिकै बढ्ने गर्छ । फेसबुकको टाइमलाइनमै आउने यस्ता ‘न्युज फिड’ का कारण समाचार साइटको मौलिक लिंकमा लाखौं प्रयोगकर्ता जोडिन पुग्छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

यसैगरी प्रकाशित सामग्री गुगललगायत अन्य सर्च इन्जिनमा तत्काल तथा पछिसम्म देखिँदा समाचारको प्रसारण र पहुँच पनि फराकिलो हुन्छ । तर लोकप्रिय सामाजिक सञ्जालमार्फत समाचार सामग्री उपलब्ध अथवा साझा गरिँदा आयका हिसाबले उत्पादकलाई भन्दा अन्यलाई बढी फाइदा हुने तर्क पनि उत्तिकै बलियो छ । यही परिप्रेक्ष्यमा सामाजिक सञ्जालमा गरिने समाचार सम्पे्रषण (न्युज फिड) र साझा गर्ने विषयलाई सम्बोधन गर्न अस्ट्रेलियामा हालै जारी नयाँ कानुनी व्यवस्थाले विश्वको ध्यान तानेको छ । अस्ट्रेलियाले ल्याएको नयाँ कानुनप्रति फेसबुकले देखाएको कडा प्रतिक्रियापछि यो घटनाले नेपाललगायत समग्र विश्वमा के प्रभाव पार्ला भन्ने चर्चा चुलिएको छ । अस्ट्रेलियाको कानुनी व्यवस्थाको प्रभाव केही देशमा देखिन थालिसकेको छ ।

अस्ट्रेलियाले गर्‍यो के ?

गत बुधबार संसद्द्वारा पारित एक कानुनले गुगल तथा फेसबुकजस्ता कम्पनीले सम्बन्धित समाचार संस्थाका समाचार आफ्नो सोसल प्लेटफर्ममा प्रकाशन गर्न व्यापारिक सम्झौता गर्नुपर्ने प्रावधान राखेको छ । अर्थात्, अब यसअघि जस्तो समाचार सामग्री सामाजिक सञ्जालमा पूर्ववत् हिसाबले निःशुल्क उपलब्ध हुनेछैनन् । गत साता मात्रा सिनेटको एक कमिटीले अनिवार्य सञ्चारमाध्यम बार्गेनिङ कानुन (म्यान्डेटोरी न्युज मिडिया बार्गेनिङ कोड) नामक उक्त कानुनलाई पारित गर्न संसद्मा प्रस्तुत गर्न सुझाव दिएकोमा संसद्ले त्यसलाई बुधबार कानुनी रूप दिएको हो । अस्ट्रेलियामा रहेका समाचार संस्था र गुगल एवं फेसबुकजस्ता डिजिटल प्लेटफर्मबीच रहेको शक्ति असन्तुलनलाई सम्बोधन गर्न उक्त कानुन आवश्यक रहेको अस्ट्रेलियाले जनाएको छ ।

सुरुदेखि नै उक्त प्रस्तावित प्रावधानको विरोधमा रहेको फेसबुकले अस्ट्रेलियाले उक्त कानुन ल्याएलगत्तै आफ्नो प्लेटफर्ममा अस्ट्रेलियाका प्रयोगकर्ताले कुनै पनि समाचार हेर्न तथा साझा गर्न नपाउने बनायो । फेसबुकका अनुसार अस्ट्रेलियाबाट फेसबुकमा अस्ट्रेलियाली तथा अन्तर्राष्ट्रिय समाचार हेर्न र सेयर गर्न पाइनेछैन भने अस्ट्रेलियाबाहिर रहेकाले अस्ट्रेलियाका न्युज पृष्ठमा गएर फेसबुकमार्फत समाचार हेर्न र साझा गर्न पाउनेछैनन् । यसैगरी अस्ट्रेलियाका प्रकाशकले आफ्ना सामग्री फेसबुक पृष्ठमा सेयर गर्न पाउनेछैनन् भने अन्तर्राष्ट्रिय प्रकाशकले फेसबुकमा समाचार सामग्री राख्न त पाउनेछन् तर उक्त सामग्री अस्ट्रेलियाबाट हेर्न र साझा गर्न पाइनेछैन ।

प्रकाशित : शनिबार, फागुन ०८, २०७७०७:३३

भटमासको तेलको निर्यात बढ्यो !