हालाण्ड भर्सेस एम्बाप्पे: को उत्कृष्ट भन्ने बारे यसो भन्छन् जिदान !

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमण्डका स्टार खेलाडी अर्लिङ ब्राउट हालाण्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी)का किलियन एम्बाप्पेका लागि यो हप्ता सुखद रह्यो।

च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा दुवैले आफ्ना-आफ्ना टिमको लागि गोल गरे। हालाण्डले स्पेनिस क्लब सेभिया विरुद्ध २ गोल गर्दा एम्बाप्पेले अर्को स्पेनिस क्लब बार्सिलोना विरुद्ध ह्याट्रिक नै गरे।

पछिल्लो समय अत्याधिक चर्चामा रहेका यी दुई खेलाडी माथि विश्वका सबै ठूला क्लबको नजर छ। स्पेनिस महारथी रियल म्याड्रिडले पनि हालाण्ड र एम्बाप्पेलाई आफ्नो क्लबमा ल्याउने योजना बनाएको खबरहरु आएका छन्।

यति बेला हालाण्ड र एम्बाप्पे मध्ये को उत्कृष्ट भनेर समेत चर्चा शुरु भएको छ। यस विषयमा रियलका प्रशिक्षक जिनेदिन जिदान पनि बोलेका छन्। जिदानले दुवै खेलाडी उत्कृष्ट रहेको भन्दै दुई बीच तुलना नगर्ने बताए।

उनले भने,”यति हो कि, दुवै अहिले र भविष्यका लागि जबरदस्त खेलाडी हुन्। अहिले नै म कसलाई मन पराउँछु भनेर भन्न सक्दिन। तर, सबैलाई आ-आफ्ना राय छन्।”

हालाण्ड र एम्बाप्पेको प्रदर्शन हेर्दा मेस्सी, नेयमार, रोनाल्डो जस्तै छनक आफूले देखेको उनको भनाई छ। दुवै अहिले युवा रहेको भन्दै जिदानले भविष्यमा दुवै उत्कृष्ट खेलाडीको रुपमा उदाउने छनक देखाइरहेको बताए।

“मेस्सी, रोनाल्डो, नेयमार विश्व स्तरका खेलाडीहरू हुन्। हालाण्ड र एम्बाप्पेले पनि त्यस्तै छनक देखाएका छन्।”,उनले भने।

प्रकाशित : शनिबार, फागुन ०८, २०७७११:५३

बायर्न स्तब्ध, हालान्ड चम्किँदा डर्टमुन्डको सानदार जित !