ओलीको प्रहार – “प्रचण्डले वैध छाडे, पछि डाक्टर पनि छाडे, अहिले झाँक्रीकोमा पुगे”

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’को अवस्था देखेर दया लागेको बताएका छन्।

विराटनगरमा नेकपा प्रदेश १ कमिटीले शनिवार मोरङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नेक्रममा ओलीले प्रचण्ड दयनीय अवस्थामा पुगेको टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री ओलीले प्रचण्ड गलत बाटोमा लागेको बताए। नेपाली जनताको चाहना, विकासका विरुद्ध प्रचण्ड लागेका कारण उनको पतनलाई कसैले टार्न नसक्ने ओलीको भनाई छ।

केहि सिटमा सिमित हुन लागिसकेको अवस्थामा आफूले ठूलो पार्टीमा महत्वपूर्ण भूमिका दिएपनि प्रचण्डमा अहंकार पलाएको पनि ओलीले टिप्पणी गरे। प्रचण्डलाई आफूले दुई चार सिट जिताएर सिङ हालिदिएको भएपनि अहिले उल्टै आफूलाई सिध्याउन लागिपरेको ओलीले बताए।

“सिद्दिन लागेका प्रचण्डलाई जुरो हाल्दिए। २-४ सिटमा सिमित हुने उनलाई ठूलो पार्टीको अध्यक्ष बनाइदिएँ। उनको सिङ पलायो।”,ओलीले प्रचण्ड बारे टिप्पणी गर्दै भने।

पार्टीमा फिर्ता आउन बाटो खुला रहेपनि प्रचण्ड सिद्दिने बाटोमा लागिसकेको ओलीले बताए। उनले भने,”उहाँ अब फर्किने बाटोमा होईन, खिईने र सिद्दिने बाटोमा हिँड्नुभयो ।”

प्रचण्डले पहिला वैद्य त्यागेको र पछि डाक्टर समेत त्यागि झाँक्रीको पक्षमा पुगेको भनि टिप्पणी गरे। मोहन वैद्य ‘किरण’, डाक्टर बाबुराम भट्टराई र राम कुमारी झाँक्री तर्फ उल्लेख गर्दै ओलीले त्यस्तो बताएका हुन्।

ओलीले भने,”प्रचण्ड जीको त मलाई अहिले माया लाग्न थालेको छ, पहिला उहाँसँग वैद्य हुनुहुन्थ्यो, उहाँले छाड्नुभयो डाक्टर लिनुभयो, डाक्टरले छाडेपछि अहिले झाँक्री लिनुभएको छ, उहाँलाई झाँक्रीले बचाउन सक्दैन।”

प्रकाशित : शनिबार, फागुन ०८, २०७७१६:०४

‘धर्म रक्षाका लागि जनता जागरुक हुनुपर्छ’