ओलीले सर्वोच्चको निर्णय नमान्ने, संसद पुनःस्थापना भए आन्दोलनमा जाने !

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापना भए आन्दोलन गर्ने चेतवानी दिएका छन्।

विराटनगरमा नेकपा प्रदेश १ कमिटीले शनिवार मोरङले आयोजना गरेको जनसभालाई सम्बोधन गर्नेक्रममा ओलीले संसद पुनःस्थापना भएको खण्डमा आफूहरु आन्दोलनमा जाने चेतावनी दिएका हुन्।

देशलाई अस्थिरताबाट जोगाउन गरिएको प्रतिनिधिसभा विघटन कुनै पनि हालतमा फिर्ता हुन नसक्ने ओलीले बताए। यदि कुनै पनि सेटिङमा प्रतिनिधिसभा पुन:स्थापना भए आन्दोलनमा जाने उनको चेतवानी छ। ओलीले अहिलेको जनअपेक्षा चुनाव भएको भन्दै त्यसविपरीत निर्णय आए आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।

“सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना पनि गरेको छैन।”,उनले भने,”कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन।”

संसद विघटनको पक्षमा फैसला सुनाउन ओलीले सेटिङ गरेको आरोप लागिरहेका बेला ओलीले शनिबार संसद विघटनको विपक्षमा सेटिङ भइरहेको बताएसँगै विभिन्न शंका उब्जिएका छन्।

संसद विघटनको सम्बन्धमा परेको मुद्दाहरुमा सर्वोच्च अदालतले आफ्नो फैसला सुनाउन केहि दिन मात्र बाँकि छ। अदालतले एक हप्ता र केहि थप दिनमा आफ्नो फैसला सुनाउने अनुमान गरिएको छ। ओलीको तर्फबाट यस्तो अभिव्यक्ति आउनुलाई अदालतलाई प्रभावमा पर्ने प्रयासका रुपमा बुझिएको छ।

सभामुख झगडिया र किर्ते

ओलीले सभामुख र उपराष्ट्रपतिको आलोचना पनि गरेका छन्। उपराष्ट्रपति नन्दबहादुर पुनले सरकारको आलोचना गरेको र सभामुख अग्निप्रसाद सापकोटाले किर्ते गरेको तथा सरकारविरुद्ध मुद्दा हालेको भन्दै आलोचना गरे।

“सभामुख बनाइएको थियो एकजनालाई । सरकारविरुद्ध मुद्दा हाल्न जानुभएको छ । सरकारविरुद्ध झगडिया हो सभामुख । सुहाउँछ ? सभामुख झगडिया हुन जानुभएको छ।”,उनले भने,”उपराष्ट्रपति सरकारविरुद्ध भाषण गर्दै हिँड्नुभएको छ । उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने होइन । संविधान मिचियो, प्रजातन्त्र मासियो आदि कुराहरू, प्रतिनधिसभा विघटन गरेर बेठिक भयो चुनाव, गर्न पाइँदैन भन्ने होइन ।”

प्रकाशित : शनिबार, फागुन ०८, २०७७१७:२१

काठमाडौँ बाहिर पनि देखियो बर्डफ्लु !