विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै कारणवश प्रतिनिधिसभा पुनःस्थापना भएमा सांसद किनबेचजस्ता विकृति बढ्ने बताएका छन्। त्यस्ता अवस्थामा सुरु हुने सरकार बनाउने र ढाल्ने खेलले लोकतन्त्रलाई कमजोर बनाउने प्रधानमन्त्रीको भनाइ छ। यो समाचार आजको अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।
ओलीले तोकिएको समयमा निर्वाचन हुने उल्लेख गर्दै देश निर्वाचनमा गइसकेको बताए। ‘निर्वाचन गर्नु, नयाँ नेतृत्व छान्नु असंवैधानिक हुँदैन। अहिलेको आवश्यकता निर्वाचन नै हो’, शनिबार विराटनगरमा आफू नेतृत्वको नेकपा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको जनमत देखिहाल्नुभयो सभामा, अब मतपत्रमा पनि त्यही हुन्छ।’
उनले नागरिकको जनमत र संघीयता नचाहनेहरू प्रतिनिधिसिभा पुनःस्थापनाका लागि संवैधानिक निकायमा ‘सेटिङ’ गर्न दौडिरहेको आरोप लगाए। ‘कुनै सेटिङ फेटिङ भएर प्रतिनिधिसभा विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले निर्वाचनको चाहना नागरिकको हो।’ तर, प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले ‘अन्यथा फैसला’ गर्छ भन्ने कल्पना गर्न नसकिने स्पष्ट पारे। ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबाबमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न पनि’, उनले भने।
उनले निर्वाचन आयोगले चिन्ने नेकपाका अध्यक्ष भनेको आफू र पुष्पकमल दाहाल नै रहेकाले बहकिएर र कड्किएर सडकमा नजान आग्रह गरे। ‘हुन त उहाँ (दाहाल) आउने बाटोभन्दा सकिने बाटोमा जानुभएको देख्छु’, उनले भने, ‘म प्रचण्डलाई एक पटकका लागि पार्टीमा आउन चाहने भए मौका दिनेछु।’
उनले दाहाललाई यहाँसम्म ल्याउन आफ्नो ठूलो योगदान रहेको बताए। आफूले ठूलो जुरो र सिङ लगाइदिएपछि दाहाल हौसिएर हिँडेको आरोप उनले लगाए। ‘सिधिएका प्रचण्डलाई मैले ठूलै जुरो हालिदिएँ। लामो सिङ पनि हालिदिएँ’, उनले भने, ‘उहाँमा अहंकार चढ्यो। उहाँ हामीलाई नै सिध्याउँछौँ भनेर लाग्नुभयो।’

