काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराई भारत जाने भएका छन्। स्वास्थ्य परीक्षणका लागि भट्टराई भारत जान लागेका हुन्।
भट्टराई आज नै भारत प्रस्थान गर्ने लागेको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए। केहि समय देखि उनको स्वास्थ्यमा समस्या देखिएको बताइएको छ।
भट्टराई लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आए पनि उनको स्वास्थ्यमा सुधार हुन सकेको छैन ।
एक श्रोतका अनुसार भट्टराईलाई ट्युमर भएको आशंका गरिएको छ। भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमर भएको हुन सक्ने चिकित्सकहरुले अनुमान गरेका छन्।
दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुने उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले बताए । उपचारका लागि दिल्लीमा रहँदा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको बसाइ त्यहाँ रहेको नेपाली दूतावासमा हुनेछ ।