काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिने बानी आफूहरुको नभएको बताएका छन्। सोमबार कञ्चनपुर पुगेका प्रधानमन्त्री ओलीले अदालतलाई प्रभावमा पार्न धम्की दिने पक्षमा आफू नरहेको बताएका हुन्।
कञ्चनपुरको दैजीमा रहेको छेला औधोगिक क्षेत्र शिलान्यासपछि आयोजित सभालाई सम्बोधन गर्नेक्रममा ओलीले सर्वोच्च अदालतलाई आफूले कुनै धम्की नदिएको बताए।
प्रचण्ड-नेपाल पक्षले अदालतको निर्णय आफूहरुको पक्षमा नआए आन्दोलन गर्ने बताउने गरेको उल्लेख गर्दै ओलीले आफू त्यस्तो पक्षमा नरहेको स्पष्ट पारे।
“अदालतको फैसला पक्षमा नआए आन्दोलन गर्छु भनेर धम्की दियो भन्ने कुरा गरे । अदालतलाई धम्की दिने बानी छैन ।”,ओलीले भने।
शनिबार विराटनगरमा ‘कुनै सेटिङ फेटिङ भएर प्रतिनिधिसभा विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भनेका ओलीले सोमबार गलत अर्थ लगाइएको बताए। आफूले लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन निरन्तर गर्छु भन्ने अर्थमा त्यसो भनेको उनको भनाई छ।
ओलीले भने,”संसद विघटन भएको छ, देश निर्वाचनतर्फ जाँदैछ, २–३ दिनभित्र फैसला हुन्छ । विराटनगरमा बोल्दा भनेको थिएँ, केही मान्छे यसो भयो भने राजनीति सिद्धिन्छ भनेर छटपट गरेका छन् । हाम्रो राजनीति केही भए पनि सिद्धिँदैन । देश बनाउने, लोकतन्त्रलाई बलियो बनाउने आन्दोलन निरन्तर चलाउँछु भनेको थिएँ।”
त्यस्तै ओलीले संसद पुनःस्थापना भए देशमा अस्थीरता सिर्जना हुने पनि बताएका छन्। संसद पुनस्थापना भए भागबण्डाको राजनीति र खरिदबिक्री शुरु हुने बताए।
उनले भने,”पुनःस्थापना भए के हुन्छ ? फेरि प्रधानमन्त्री खोज्न हिँड्नुपर्छ । त्यसका लागि पार्टीहरु खोज्नुपर्छ । कसैको बहुमत पुग्दैन । भागबण्डाको राजनीति, खरिदबिक्री, अस्थिरताकाे खेल शुरु हुन्छ।”

