प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् ।

कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका हुन् । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका लागि महाकाली अस्पतालमा भर्ना गरिए पनि अवस्था जटिल भएका कारण थप उपचारका लागि कैलालीको धनगढीतर्फ लगिएको छ । छात्रा नाथको टाउकामा चोट लागेको छ ।

छात्राका बुवा पदम नाथले विद्यालय गएकी छोरीमाथि प्रधानाध्यापक विष्टले कुटपिट गरी घाइते बनाएको बताए । “छोरी विद्यालय गएकी थिइन्”, उनले भनिन्, “घर आउँदा बेहोस भइन् । अस्पताल ल्याएका छौँ, टाउकामा चोट लागेको छ ।”

छात्रामाथि कुटपिट गर्ने प्रधानाध्यापक विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले छात्रामाथि कुटपिट गरेका प्रअलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको बताए।

घटनाबारे विद्यार्थी सङ्घसङ्गठन, महिला अधिकारकर्मीले विरोध जनाएका छन् । उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कारवाहीको माग अघि सारेका छन् ।

अनेरास्ववियू कञ्चनपुरका नेता रमेश पन्तले घटना दुःखद् भएको भन्दै प्रअमाथि कारवाहीको माग गरे । महिला अधिकारकर्मी शारदा चन्द, मीना भण्डारी र निर्मला भट्टसहितका अधिकारकर्मीले महिला, बालबालिकामाथि भइरहेका घटनाको भत्र्सना गर्दै दोषीउपर कारवाहीको माग गरेका छन् ।

प्रकाशित : मङ्गलबार, फागुन ११, २०७७०९:५६

पश्चिमी वायुको आंशिक प्रभावले मौसममा परिवर्तन, पानी र हिउँ पर्ने सम्भावना !