राजिनामा दिन ओलीलाई प्रचण्डको चेतवानी !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन सुझाव दिएका छन्। सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै प्रचण्डले प्रधानमन्त्री केपी शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएका हुन्।

प्रतिनिधिसभा पुनःस्थापनाको फैसलालाई स्वागत गर्दै प्रचण्डले नैतिकता भए ओलीले राजिनामा दिनु पर्ने बताए। राजिनामा नदिई अर्को कदम चालेको खण्डमा राजा–महाराजाको भन्दा ठूलो दुर्गती हुने प्रचण्डको भनाई छ।

“तपाईंको चालेको कदमले दुई महिनादेखि जनतामा ठूलो आवेग थियो । अब अलिकति पनि लाज छ भने, नैतिकता छ भने राजीनामा दिनुहोस्।”,उनले भने,”अर्को मूर्खता गर्नु भयो भने राजा–महाराजाको भन्दा ठूलो दुर्गती हुनेछ । यो मेरो सुझाव हो ।”

सर्वोच्चले गरेको फैसलालाई प्रचण्डले सही ऐतिहासिक र साहसिक फैसला भनेका छन्। सर्वोच्चले जनता र संविधानको पक्षमा निर्णय गरेको भन्दै प्रचण्डले गौरवको अनुभूति गरेको बताए। सेटिङ गर्दा जितिन्छ भनेर भ्रममा केपीको पक्षमा लाग्ने सांसदहरुलाई प्रचण्डले मूल पार्टीमा फिर्ता हुन आह्वान समेत गरे।

“अब तपाईंहरु फेरि माननीय हुनुभएको छ । सेटिङ गर्दा जितिन्छ भनेर भ्रममा केपीको पक्षमा लाग्ने माननीय सांसदहरुलाई अब मूल पार्टीमा आउनुहोस् भन्न चाहन्छु । तपाईंहरूलाई स्वागत छ । अब केपीको भूल भुलैयामा बस्न पर्दैन ।”,उनले भने।

प्रकाशित : मङ्गलबार, फागुन ११, २०७७२१:१२

प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि तयारीमा अवस्थामा नेपाली सेना !