“बल्ल खेल शुरु भयो, रोनाल्डो, पेले र मेस्सी हामीसँगै छन्”

काठमाडौँ – शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले खेल बल्ल शुरु भएको बताएका छन्। सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि श्रेष्ठले खेल बल्ल शुरु भएको बताएका हुन्।

सीटीईभीटीको ३३ औ वार्षिकोत्सवलाई सम्बोधन गर्नेक्रममा श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिने मात्र बताएनन्, सर्वोच्चको फैसला पश्चात खेल बल्ल शुरु भएको बताए।

ओली अविश्वासको प्रस्तावको सामना गरेरै अगाडी बढ्ने उनको भनाई छ। अविश्वासको प्रस्ताव आए पनि अहिलेको सरकारले निरन्तरता पाउने दाबी उनले गरे।

आफूहरुसँग रोनाल्डो, पेले र मेस्सीहरु रहेको भन्दै उनले अब खेल आफूहरुले नै जित्ने बताए। जुनै पनि हालतमा निर्वाचन हुने मन्त्री श्रेष्ठको दावी छ।

“खेल त अब सुरु भयो। हामीसँग रोनाल्डो, पेले र मेस्सीहरु छन। यही सरकारले निरन्तर हुन्छ अबको सरकार चुनावी सरकार हुन्छ।”,उनले भने,”काठको ज्यानमा मयुरको प्वाँख हालेकाहरुले केही गर्न सक्दैनन्।”

संसद विघटनको निर्णय बदर भएसँगै अस्थिरताको खेल पुनः शुरु भएको पनि उनले बताए। प्रधानमन्त्री बन्न अब नेताहरु अन्य दलका नेताहरुको घर-घर धाउने दिन आउने उनको भनाई छ।

अस्थिरता रोक्न जसरी पनि निर्वाचन हुनैपर्नेमा उनको जोड छ। अस्थिरताको फोहोरी खेलबाट देशलाई मुक्त गर्न चुनाव आवश्यक रहेको उनले बताए।

उनले भने,”अब प्रधानमन्त्री बनाईदिनु पर्यो भन्दै नेताहरु घर–घर चाहार्छन्। अब अस्थिरताको फोहोरी खेलबाट देशलाई मुक्त गर्न चुनाव आवश्यक छ।”

एक गोल पोलमा लागेर फर्कियो

नेकपा ओली समूहका नेता महेश बस्नेतले एक गोल पोलमा लागेर फर्किएपनि अर्को गोल हान्ने पालो ओलीकै रहेको बताएका छन्। सामाजिक संजाल मार्फत उनले ओलीको वरिपरि नेपालको राजनीति घुमिरहेको बताउँदै अर्को गोल हान्ने पालो ओलीकै रहेको बताएका हुन्।

बस्नेतले फेसबुकमा लेखेका छन्,”सर्बोच्च अदालतको अनपेक्षित फैसलाको स्विकार गरिन्छ। ०५२ सालको मनमोहन अधिकारीको सरकारको संसद बिगठन गरि निर्वाचनमा गएको प्रक्रिया बिगठन गरेको फैसलालले राजनीति १ दशक सम्म अस्थिरता र बिकृती तर्फ फसेको थियो। जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुजबुज पुर्ण कदम चाल्नुहुनेछ। सुखी नेपाली र समृद्ध नेपालका परिकल्पनाकार राजनेता के पी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ। एक गोल पोलमा लागेर फर्केको छ। नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ। मुलुकलाइ समीकरणको दिशा बाट एकीकरणको दिशामा लग्नुहोस। बिभाजनकारीहरुलाइ एकताको प्रक्रियामा फर्काउनुस। पद,पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाइ सदाचारको बाटोमा हिडाउनु होस।राजनीतिलाई बिकृती र बिसंगती मुक्त बनाउनुहोस।हामी सबैको सशक्त र दरो समर्थन तपाईंलाइ रहनेछ।”

प्रकाशित : बुधबार, फागुन १२, २०७७१२:४५

नेदरल्याण्डमा कोरोनाका कारण मार्च १५ सम्म कर्फ्यु