“अब मुलुक संविधानबाट चल्छ”

काठमाडौं, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमद असंवैधानिक ठह¥याउँदै संसद् पुनःस्थापना गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज राजधानीमा खुशीयाली जुलुस निकालेको छ ।

राजधानीको शान्तिवाटिकामा भेला भएका जनसमुदायले संसद् भङ्ग गर्ने सरकारको असंवैधानिक कदम न्यायालयले सच्याएको भन्दै खुशीयाली साटासाट गरेका थिए । सर्वोच्च अदालतले मङ्गलबार प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय खारेज गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो ।

सरकारको सिफारिशमा गत पुस ५ गते राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाखमा मध्यावधि निर्वाचन घोषणा गरिएको थियो । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको विरोधमा नेकपालगायत विभिन्न राजनीतिक दलले देशव्यापी जनप्रदर्शन गरेका थिए ।

शान्तिवाटीकामा भेला भएका नेकपाका नेता कार्यकर्ताले जुलुससहित नगर परिक्रममा गरेका थिए । जुलुसमा नेकपाका स्थायी कमिटी सदस्य पम्फा भुसाल, जनार्दन शर्मा, केन्द्रीय सदस्य जीवनराम श्रेष्ठ, हिमाल शर्मालगायतको सहभागिता थियो । जुलुसपछि भृकुटीमण्डपमा सभा आयोजना गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै नेकपा नेत्री पम्फा भुसालले संविधान कुल्चेर प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई न्यायालयले सच्याएको बताइन्। “अब मुलुक संविधान र संविधानबाट चल्छ, सर्वोच्चबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले पनि खेलाची गर्न सक्दैन भन्ने ऐतिहासिक फैसला भएको छ”, उाले भनिन्। विश्वकै उत्कृष्ठ समाजवादी मोडल स्थापना गर्न अब आफूहरूको ध्यान केन्द्रित हुने उल्लेख गर्दै उनले जनताको न्याय, समानता र मुक्तिको अभियानलाई पूरा गर्न लागि पर्ने प्रतिबद्धता व्यक्त गरिन्।

नेत्री भुसालले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक कदमविरुद्ध देशव्यापी सङ्घर्ष गर्न साथ दिने सम्पूर्ण जनसमुदायप्रति पनि आभार व्यक्त गरिन्। नेकपाले संसद् पुनःस्थापनाको खुशीयालीमा देशभर जनसभाको आयोजना गरेको छ

प्रकाशित : बुधबार, फागुन १२, २०७७१५:५३

“दुई वर्षको समय पाइयो, झन् बढी मतले जित्ने भयौं”