काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूह छाडेर केपी शर्मा ओली समूहमा पुगेका नेता शेरबहादुर तामाङले सर्वोच्च अदालतको फैसला पश्चात आफूहरुको संगठन थप बलियो भएको बताएका छन्।
सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेपछि केपी ओलीको समूह कमजोर भएको भनेर विश्लेषण भइरहेका बेला तामाङले आफूहरुको संगठन थप बलियो भएको बताएका हुन्।
बुधबार काठमाडौँमा आयोजित ओली निकट राष्ट्रिय युवा संघको भेलालाई सम्बोधन गर्नेक्रममा तामाङले सर्वोच्चको फैसला पश्चात आफूहरु कमजोर भएको भनेर सोचिएपनि त्यस्तो नरहेको बताए।
“सर्वोच्चको फैसलापछि आज मान्छेहरुलाई लागेको होला, जसरी मनमोहन अधिकारीको सरकार अविश्वासको प्रस्तावका कारण त्यतिखेर हट्यो, त्यसैगरी आज केपी ओलीको सरकार त्यसैगरी सकिन्छ भनेर लागेको होला। तर, पार्टी तपाईं(कार्यकर्ता)हरुको हातमा छ र तपाईंहरुले बनाउनुहुन्छ। हामी झन् बलियो हुनेछौं”,उनले भने।
त्यस्तै तामाङले सर्वोच्चको फैसलाका कारण आफूहरुले संगठन विस्तारका लागि दुई वर्षको समय पाएको पनि बताएका छन्। छिट्टै चुनावमा जाने घोषणा गरेपनि अहिले आएर आफूहरुले दुई वर्ष समय पाएको र त्यो समय संगठन विस्तार गर्न सदुपयोग गरिने उनले बताए।
“हामीलाई कस्तो गज्जब भयो, छिट्टै चुनावमा जाँनुपर्दा हामी हतारमा थियौं। तर, अब दुई वर्ष संगठन बनाउने अवसर पायौं। हामी जितेरै छोड्छौं। किन हार्ने?”,उनले भने। सर्वोच्च अदालतको फैसला पश्चात आफूहरु संयतापूर्वक राजनीतिक विचार गरिरहेको उनले बताए।
उनले भने,”सायद हिजोको फैसला आजको जुन फैसला आएको छ, त्यसको ठीक उल्टो आएको भए के हुन्थ्यो होला, आज सायद नेपाल बन्दको अवस्थामा हुन्थ्यो होला, उहाँहरु आगो बालिरहनुभएको हुन्थ्यो होला। तर, हामीले संयतापूर्वक राजनीतिक विचार राखिरहेका छौं। त्यसैले हामी समृद्धिको पक्षमा छौं। यो मुलुकको निर्माण हाम्रो प्रमुख एजेण्डा हो। फेरि पनि यो मुलुकलाई धनी बनाउन सक्छौं। हामीसँग प्रशस्त एजेण्डा छन्। प्रत्यक जनतालाई गरीबबाट मुक्त गर्न सक्छौं। र, ती एजेण्डाहरु कमरेड केपी ओलीको नेतृत्वमा सम्पन्न हुनेछन्।”

