“प्रधानमन्त्री ओलीले सच्चिएर क्षमा माग्नुपर्छ, राजीनामा दिनुपर्छ”

काठमाडौँ – सर्वोच्च अदालतको फैसलाको स्वागतार्थ पोखरामा र्‍याली निकालिएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–समूहले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै बुधबार पोखरामा र्‍याली निकालेको हो। पोखराको पृथ्वीचोकबाट सुरु भएको र्‍याली सभागृहचोक, न्युरोड हुँदै चिप्लेढुंगा मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तुलबहादुर गुरुङले सर्वोच्चको फैसलापछि प्रतिगामी कदम सच्चिएको बताए। संसद् विघटन गर्ने केपी ओलीको कदम प्रतिगामी थियो, देशको हित विपरित थियो,’ उनले भने, ‘सर्वोच्चको निर्णयले प्रतिगमन सच्चियो, संविधान ट्र्याकमा आयो।’

नेता गुरुङले सर्वोच्चले संसद् विघटन गर्ने कदम बदर गर्दै संसद् पुनःस्थापना गर्ने फैसला ऐतिहासिक सुनौलो दिनको रूपमा अंकित हुने बताए। उनले अब लोकतन्त्रलाई संस्थागत गर्न एक ढिक्का भएर जानुपर्नेमा जोड दिए।

नेता गुरुङले प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गरेका छन्। ‘तपाईंले प्रतिगमन गर्नुभयो,’ उनले भने, ‘जुन देश र जनताको हितमा थिएन, त्यसलाई सर्वोच्चले सच्याइसकेको छ, अब प्रधानमन्त्री ओलीले पनि आफूले गरेको गल्तीप्रति आत्मालोचना गर्दै क्षमा माग्नुस्, सच्चिनुस्।’ उनले नैतिकता भए प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने बताए।

राजीनामा नदिएर फेरि पनि सत्ता टिकाउन अर्को प्रतिगामी कदम चाल्ने दुस्साहस गरेमा आन्दोलनको ज्वारभाटा ल्याएर बढार्ने उनको भनाय थियो। उनले अब पनि सेना र प्रहरीको आडमा कदम चाले जनतालाई नसहने र सेना प्रहरीले पनि ओलीविरुद्ध उभिने भन्दै अगाडि थपे,‘प्रतिगमन सच्चिएको विरोधमा प्रधानमन्त्री ओलीले आन्दोलन गरेमा त्यो महाभूल हुनेछ, त्यसलाई जनताले सहँदैन, सेना, प्रहरीले पनि साथ दिँदैन।’

प्रकाशित : बिहिबार, फागुन १३, २०७७०९:२२

‘१४ वर्षको जेल बसाइमा एक वर्षको जति पनि खाना खाएको छैन होला’