काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले नेपाली कांग्रेस सरकारमा सहभागी हुन नहुने बताएका छन्। कान्तिपुर दैनिकलाई अन्तर्वार्ता दिने क्रममा थापाले नेपाली कांग्रेस सरकारमा सहभागी हुन नहुने धारणा राखेका हुन्।
प्रतिनिधिसभा सदस्य समेत रहेका थापाले देशलाई निकास दिन नेपाली कांग्रेसले केहि न केहि निर्णय गर्ने भएपनि सरकारमा सहभागी गइहाल्न नहुने बताए।
जनताले नेपाली कांग्रेसलाई सरकार चलाउने म्यान्डेट नदिएको उनको भनाई छ। जनताले नेपाली कांग्रेसलाई प्रमुख प्रतिपक्षीको रुपमा मत दिएको हुँदा जनमतको कदर गर्दै सरकार बाहिर नै कांग्रेस बस्नुपर्ने उनले जिकिर गरे।
“देशलाई निकास दिने कुरामा नेपाली कांग्रेसले केही न केही निर्णय गर्नुपर्छ नै । तर, अहिले कांग्रेस सरकारमा जाने होइन । हामीले सरकार चलाउने म्यान्डेट पाएकै हैन, हामी त्यतातिर जानैहुन्न ।”,उनले भने।
प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदम विरुद्ध लडेर उनैको सरकारमा सामेल हुने अथवा उनीसँग मिलेर सरकार चलाउनेबारे पार्टीले सोच्न पनि नहुने उनले बताए।
उनले भने,”प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको लडाइँ लडेर आइसकेपछि अहिले उहाँसँगै साझेदारी, सहकार्यको निम्ति कुनै समीकरण बनाउनेबारे पार्टीले सोच्नु पनि हुँदैन । अहिलेका लागि केपी ओलीसँग कुनै समीकरण हुँदैन । भोलि होला । तर यो बिन्दुमा भने हुँदैन ।”
नेपाली कांग्रेस नेकपाको कुनै पनि पक्षले बनाउने सरकारमा सामेल हुन नहुने उनको बुझाई छ। उनले भने,”मेरो कुरा अहिले हाम्रो पार्टी नै सरकारमा जानु हुँदैन भन्ने हो । अहिले पार्टीलाई सरकारमा जानेतर्फबाट रोक्नुपर्छ । पार्टीलाई रोक्न सक्दा आफूलाई रोक्न सकिहाल्छु । म जादिनँ ।”