काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले प्रतिनिधिसभा बैठक नबसेको झन्डै ३ महिनाको तलब भत्ता पाउने भएका छन्। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि उनीहरूले संसद नचलेको अवधिको पनि तलब पाउने भएका हुन्।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन: स्थापना गर्ने निर्णय गरेपछि गत पुस ५ गतेदेखि शून्य अवस्थामा रहने गरी बदर गरिदिएको तलब पनि संसदहरुले पाउने भएका हुन्। पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए।
फागुन २५ गते अगावै तीन महिनाको तलब सांसदको खातामा पठाउने तयारी भइरहेको बताइएको छ। सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको तलब भने त्यो भन्दा केही बढी छ।
प्रतिनिधिसभा पुनर्स्थापना हुने भएसँगै २ सय ६९ सांसदले प्रतिनिधि सभाको शुन्य अवधीको तलब पाउने भएका हुन्। प्रतिनिधिसभाका २ सय ७५ सदस्यमध्ये विभिन्न कारणले ६ स्थान भने खाली छ।