काठमाडौँ – प्रतिनिधिसभा पुनस्र्थापना भएपछि वामदेव गौतमले एकीकृत पार्टीको अध्यक्ष दाबी गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
बिहीबार बिहान खुमलटार पुगेर पुष्पकमल दाहाललाई भेटेका गौतमले पार्टी एकीकरण अभियान सफल पारौं भन्दै दुवै अध्यक्ष अस्वीकार्य हुने भए आफू संक्रमणकालको अध्यक्ष भएर नेकपाको महाधिवेशन गराउने प्रस्ताव गरेका हुन्।
प्रधानमन्त्री ओलीलाई सम्मानजनक बिदाइ गर्दै नेकपाकै सरकार बनाउन प्रयास गरौं भन्ने प्रस्ताव पनि नेता गौतमको थियो। गौतमले बहुमत नेकपाकै लागि आएकाले अबको प्रधानमन्त्री पनि नेकपाकै बनाउने र अहिले भएका अध्यक्षहरूलाई हटाएर संक्रमणकालीन अध्यक्ष आफूलाई बनाए महाधिवेशन गराएर बिदा हुने जनाएका थिए।
‘उहाँले पार्टी एकतामा जोड दिनुभयो साथै ओलीको सम्मानजनक बिदाइको कुरा पनि गर्नुभयो र संक्रमणकालीन अध्यक्षका लागि आफूलाई प्रस्ताव गर्नुभयो,’ खुमलटारनिकट स्रोतले भन्यो। संसद् पुनस्र्थापना भएपछि गौतमले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै पार्टी एकताका लागि आफू लागिरहने बताएका थिए।
पुस ५ गते संसद् विघटन भएपछि कुनै पनि समूहमा नलागेका गौतमले देशभरका कार्यकर्तालाई समेटेर पार्टी एकता अभियान सञ्चालन गर्दै आएका छन्।
नेकपाका दुवै समूह सकसमा
सर्वोच्च अदालतबाट संसद् पुनर्स्थापना भएसँगै नेकपाका दुवै समूह राजनीतिक र कानुनी सकसमा परेका छन्। सरकार गठन र संसद्मा प्रस्तुत हुन कानुनी रूपमा पार्टी विभाजन नभएकाले दुवै समूह सकसमा परेका हुन्।
नेकपा दाहाल–नेपाल समूहले यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर पुष्पकमल दाहाललाई संसदीय दलको नेतामा चयन गरिसकेको छ। राजनीतिक निर्णय भएकाले त्यसले कानुनी वैधता पाउने अवस्था छैन। कानुनी रूपमा प्रधानमन्त्री ओली नै नेकपाको संसदीय दलको नेता भएकाले दाहाल–नेपाल समूहलाई तत्काल निर्णय गर्न असजिलो भएको छ।

