गत सिजनको अन्त्यबाट नै बार्सिलोना छाड्न असफल प्रयास गरेका क्लबका कप्तान लियोनल मेस्सीको क्याम्प नाउमा भविष्यको बारेमा अझै पनि अनिश्चितता रहेको छ। धेरैले उनको क्लबमा यो अन्तिम सिजन भएको बताउँदै गर्दा क्लबको नयाँ अध्यक्ष पदका लागि उम्मेदवार जोआन लापोर्टा भने मेस्सीलाई कसरी क्लबमा राख्न सकिन्छ भन्नेमा जोड दिइरहेका छन्।

३३ वर्षीय अर्जेन्टिनी कप्तानको बार्सिलोनासँगको सम्झौता यहि सिजनको अन्त्यबाट सकिँदैछ। यस्तोमा क्लब कप्तानले सिजनको अन्त्यसम्म क्लबमा आफ्नो भविष्यको बारेमा कुनै पनि निर्णय नगर्ने बताइसकेका छन्। लापोर्टा, जो अध्यक्ष पदको लागि हुने मतदान जित्ने प्रवल दाबेदार हुन्, का अनुसार मेस्सीलाई क्लबमा राख्नको लागि बार्सिलोनाले फेरी उपाधि जित्ने टोली बनाउनु पर्छ।

“[मेस्सी] बस्नका लागि बार्सिलोनामा उसले अझ पनि उपाधिहरु जित्नेछ भन्नेमा विश्वस्त हुनुपर्छ,” उनले भने, “हामीले फेरी एकपल्ट एकजुट हुनुपर्छ र राम्रो टोली तयार गर्नुपर्छ। मलाई लाग्छ मेस्सी बार्सामा बस्न उसलाई यहाँ फेरी मायाको महसुस गराउनुपर्छ।”

अबको केहि हप्ता मेस्सीको भविष्यको लागि महत्वपूर्ण साबित हुन सक्छ। क्लबले ला लिगा, च्याम्पियन्स लिग र कोपा डेल रेमा महत्वपूर्ण खेलहरू खेल्नेछ। त्यस्तै, मेस्सीले वार्ताका लागि मार्च ७ को चुनाव पछि नयाँ अध्यक्षसँग भेट गर्ने अपेक्षा गरिएको छ।

