काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का नेता राजेन्द्र महतोले आफ्नो पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री बन्न सक्ने बताएका छन्।
एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा परिवर्तित राजनीतिक घटनाक्रमसँगै भट्टराई नेपालको प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको महतोले बताएका हुन्।
सर्वोच्च अदालतले संसद विघताना बदर गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओली यति बेला दबावमा छन्। संसद शरु भएलगतै उनी विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने नेकपाकै अर्को खेमाले तयारी गरेको छ।
नयाँ सरकार बनाउनको लागि उक्त खेमाले अहिले जसपा सहित नेपाली कांग्रेससँग छलफल गरिरहेको अवस्था छ। यससँगै अहिले नयाँ प्रधानमन्त्रीको रुपमा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको नाम अगाडी आएको छ।
यसै विषय बारे गरिएको प्रश्नमा नेता महतो भट्टराई प्रधानमन्त्री बन्ने सम्भावना रहेको कुरालाई नकार्दैनन्। को प्रधानमन्त्री बन्छ भन्ने कुरा शक्ति समीकरणमा भर पर्ने उनको भनाई छ।
“हुनसक्छ नि के छ र। अब कस्तो शक्ति समीकरण बन्छ, के बन्छ त्यो त थाहा भएनन नि त।”,सहमतीय सरकारको अवस्थामा डा. बाबुराम भट्टराई पनि प्रधानमन्त्री बन्ने अवस्था आउन सक्छ भनेर प्रश्न गर्दा उनी भन्छन्।
आउने दिनमा कस्ता परिस्थिति विकसित हुन्छन् भन्ने कुराले आफूहरुको भूमिका निर्धारण हुने उनको भनाई छ। सत्ता समिकरणका विषयमा आवश्यक निर्णयले पार्टीले गर्ने पनि उनले बताए। अहिले नै आफूहरुको भूमिका के रहन्छ भन्ने बारे बोल्ने समय आइनसकेको उनी बताउँछन्।

