दाहाल र नेपाललाई ओलीको काउन्टर – ‘नो राजिनामा’

काठमाडौं । प्रतिनिधिसभा पुनस्र्थापनासँगै नयाँ सरकार निर्माणको चर्चा तीव्ररूपमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्रीमा कायम रहने दाबी गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ।

नेकपाकै दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पमकमल दाहाल र माधवकुमार नेपालले प्रधानमन्त्रीबाट ओलीले राजीनामा दिनुपर्ने माग गरिरहँदा ओलीले भने २ वर्षसम्म आफ्नै सरकार रहने र राजीनामाको कसैले कल्पनै गर्न नपर्ने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा पुनस्र्थापना भएपछि नयाँ सरकार निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाइरहेका बेला प्रधानमन्त्री ओलीले आगामी दुई वर्षसम्म आफ्नै नेतृत्वको सरकार रहिरहने बताएका हुन् ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार आफू निकटका सांसदसँग छलफल गर्दै अझै दुई वर्षसम्म आफू नै प्रधानमन्त्री रहिरहने भएकाले ढुक्क भएर बस्न र सोहीअनुसार अघि बढ्न निर्देशन दिए । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रदेश १ का संघीय सांसदसँग छलफल गरेका उनले कुनै पनि हालतमा प्रधानमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पारे । छलफलमा सहभागी एक सांसदका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो पक्षमा १ सय २० भन्दा बढी सांसद पुग्ने दाबी गरेका छन् ।

दाहाल–नेपाल समूह भने ओलीलाई जसरी पनि विस्थापित गर्ने रणनीतिअनुसार अघि बढिरहेका छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग सरकार निर्माणबारे छलफल गरेका दाहाल–नेपाल समूहले ओली समूहबाहेकको संयुक्त सरकार निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका हुन् ।

‘बीचमै राजीनामा दिएर छोड्न मिल्दैन । अझै दुई वर्षसम्म मैले नै सरकार चलाउने हो’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक सांसदले भने, ‘राजीनामा दिने कल्पना नै नगर्नुस् । तपार्इंहरू ढुक्क हुनुस् । साथीहरू लड्डु खाँदै हिंडनुभएछ, ठिकै छ हेर्दै जाउँला ।’

प्रधानमन्त्री ओलीसँग छलफल गरेका सांसदले पार्टी एकता जोगाएर अघि बढ्न सुझाव दिएका छन् । तलका नेता, कार्यकर्ता तथा शुभेच्छुकले पार्टी एकता कायम रहोस् भन्ने चिन्ता राख्दै आएको विषयमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको एक नेताले बताए ।

प्रकाशित : शनिबार, फागुन १५, २०७७०९:५८

प्रचण्ड भन्छन् – “कांग्रेस र जसपासँग हामी मिले भारत खुशी हुन्छ”