ओलीको मनमा रहेको मैलो पखाल्दा बागमतीको पानी सकियो तर अझै पखालिएन: युवराज ज्ञवाली

नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुधार्नको धेरै कोशिश गरे पनि यसले कुनै फरक नपरेको बताएका छन्।

शनिबार नेकपाको माधव-प्रचण्ड समूहले गुल्मीमा आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले ओलीलाई सुधार्नको लागि जति प्रयास गरेपनि ती सबै प्रयास निरर्थक भएको बताएका हुन्।

उनले केपी ओलीको मनमा धेरै हिलोमैलो रहेको र त्यो हिलोमैलो धुँदा-धुँदा बागमतीको पानी सकिएको तर ओलीको बानी कहिल्यै नसुध्रिएको र उनको मनको हिलोमैलो पनि नपखालिएको बताएका छन्। ज्ञवालीले भने, “ओलीलाई सुधार्नका लागि सक्दो प्रयास गर्दा गर्दै पनि उहाँ सुध्रिनुभएन।” उनले थपे, “ओली जीलाई धुँदा-धुँदा बागमतीको पानी सकियो तर उनी भित्रको मैलो पखालिन सकेन।”

ओलीले तत्कालीन एमाले र माओवादी केन्द्रबीच गरिएको एकता आफू प्रधानमन्त्री पदमा पुग्न र विद्या भण्डारीलाई दोस्रोपटक राष्‍ट्रपति बनाउनका लागि मात्र गरेको आरोप लगाउँदै अब उनलाई सत्तामा बस्न नैतिकताले पनि नदिने भएकोले राजीनामा दिन समेत आग्रह गरे। ज्ञवालीले प्रधानमन्त्री ओलीलाई अब आफ्नै निजी निवास बालकोटमा गएर आराम गर्न सुझाव पनि दिए।

ओलीले आफूलाई महाराजधिराज ठान्छन्: प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई महाराज धिराज ठान्ने गरेको बताएका छन्। शनिबार ललितपुरको जावलाखेलमा प्रचण्ड–नेपाल समूह निकट शिक्षकहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

प्रचण्डले ओलीमा आफ्नो विरोध सुन्न नसक्ने, बैठक, छलफलमा बस्न मन नगर्ने जस्ता चरित्र रहेको आरोप लगाएका छन्। “उहाँमा अरुको आलोचना सुन्न नसक्ने, बैठक बस्न मन नगर्ने, शक्तिमा पुग्न जस्तोसुकै सम्झौता पनि गर्ने तर काम भने नगर्ने प्रवृत्ति छ,” उनले भने, “पहिले महाराजधिराजले पनि यस्तै गर्थे, अहिले उहाँले आफूलाई महाराजधिराज नै ठान्छन्”

त्यस्तै, उहाँले अब प्रधानमन्त्री ओलीको वर्ग समेत परिवर्तन भएको भन्दै अब ओली आफ्नो वर्गमा नरहेको बताए। प्रचण्डले अहिले प्रधानमन्त्री ओली महाभारतको सकुनीको भूमिकामा रहेको समेत टिप्पणी गरे। “जेलमा बस्दा महाभारत र चाणक्य नीतिमात्र पढ्नुभएछ,” प्रचण्डले भने, “त्यहि भएर होला महाभारत र सकुनीको भूमिका खूब मन पर्दोरहेछ, अहिले उहाँ सकुनीकै भूमिकामा हुनुहुन्छ।”

दाहालले अब सहमति कोसँग गर्ने कोसँग नगर्ने भन्ने व्यक्तिगत विचारको कुरा भएको बताउँदै पार्टी भनेको विधि र पद्दति भएको बताए। “विचार मिल्यो भने एकता हुन्छ, नभए हुँदैन,” प्रचण्डले भने। पहिले पनि विचारकै सन्दर्भमा मूलभूत रूपमा ‍सहमति भएको उनको भनाइ छ।

प्रकाशित : शनिबार, फागुन १५, २०७७१७:३०

जति भाषण गरे पनि तीन वर्षमा सरकारले केहि गर्न सकेको छैन: प्रकाशमान सिंह