एजेन्सी – लामो समय देखि चलिरहेको किलियन एम्बाप्पेको ट्रान्सफर चर्चा निर्णायक चरणमा प्रवेश गरेको छ। पेरिस सेन्ट जर्मेन (पीएसजी)ले एम्बाप्पेलाई क्लबमै रहने कि अन्यत्र जाने छिटो निर्णय गर्न भनेसँगै एम्बाप्पेको ट्रान्सफर चर्चा निर्णायक चरणमा प्रवेश गरेको हो।

विभिन्न अन्तराष्ट्रिय संचार माध्यमहरुमा अनुसार पीएसजीले एम्बाप्पेलाई क्लबमै रहने अथवा अन्य क्लबमा जाने भन्ने विषयमा छिट्टै निर्णय लिन भनेको छ।

पछिल्लो समय एम्बाप्पे स्पेनिस महारथी रियल म्याड्रिडको नजरमा छन्। क्रिस्टियानो रोनाल्डो युभेन्टस गएयता रियलले उनको उत्तराधिकारी भेट्न सकेको छैन। जसकारण उसले क्रिस्टियानोको ठाउँ एम्बाप्पेले लिउन् भन्ने चाहेको छ।

तर, यता पीएसजीले भने एम्बाप्पेलाई पीएसजीमै रहन आग्रह गरिरहेको केहि संचार माध्यमहरुको दावी छ। उनीहरुका अनुसार पीएसजीमै रहनको लागि एम्बाप्पेलाई राम्रो पारिश्रमिक दिने प्रस्ताव पनि गरिसकिएको छ। एम्बाप्पे र नेयमार दुवैलाई वार्षिक ३० मिलियन युरो पारिश्रमिक दिने प्रस्ताव पीएसजीले गरेको बताइन्छ।

पिएसजीका खेलकुद निर्देशक लियोनार्दोले पनि एम्बाप्पेको भविष्य बारे छिट्टै निर्णय हुने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा उनले एम्बाप्पेको ट्रान्सफर बारे धेरै समय देखि चर्चा चलिरहेको भन्दै यस विषयको टुंगो छिट्टै लगाउने बताए। आफूहरु यस विषयलाई छिट्टै टुंगो लगाउने मनस्थितमा पुगेको उनको भनाई छ।

सन् २०२० मा पीएसजी र एम्बाप्पे बीचको सम्झौता सकिने हुँदा पीएसजीले आउने ट्रान्सफर विन्डोमै एम्बाप्पेलाई बिक्रि गर्न सक्ने अनुमान पनि गरिन्छ। एम्बाप्पेले पीएसजी छाड्ने निर्णय गरेको खण्डमा यस सिजनको अन्त्यमै उनी अर्को क्लबमा अनुवन्धित हुनेछन्।

