चम्किए बेल, २ गोल र १ असिस्ट !

एजेन्सी – रियल म्याड्रिडबाट लोनमा आएका विंगर ग्यारेथ बेलको उत्कृष्ट प्रदर्शनसँगै टोटेनहम हट्सपरले इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार बर्नलीमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ । टोटेनहमको जितमा बेलले २ गोल र १ असिस्ट प्रदान गरे ।

खेलको ६८ सेकेन्डमा नै बेलले टोटेनहमलाई अग्रता दिलाएका थिए । ह्युङ मिन सनको क्रसमा अफसाइड ट्रयाप बिट गर्दै बेलले पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा सहजै गोल गरेका थिए । १५ औं मिनेटमा बेलको पासमा ह्यारी केनले शक्तिशाली प्रहारमा गोल गर्दै अग्रता दोब्बर पारे ।

३१ औं मिनेटमा लुकास मोउराले गोल गरेपछि मोउरिन्होको टोलीले ३-० को आरामदायी अग्रता बनाएको थियो । त्यसअघि केनको प्रहारमा गोलरक्षक निक पोपले उत्कृष्ट बचाउ गरेका थिए । पहिलो हाफको अन्त्यतिर सनको प्रहारमा पोप नै बाधक बनेपछि खेल ३-० रहेको थियो ।

दोस्रो हाफमा टोटेनहमले बल पोसेसनमा ध्यान दिएको थियो । ५५ औं मिनेटमा सनको पासमा बेलले व्यक्तिगत दोस्रो गोल गरे । उनले सनको लामो पासलाई नियन्त्रणमा लिँदै बायाँ खुट्टाले सेकेन्ड पोस्टमा गरेको प्रहार पोपले बचाउने कुनै अवसर पाएनन् । मोउरिन्होले बेललाई अन्तिम २० मिनेट भने विश्राम दिँदै एरिक लामेलालाई मैदान छिराएका थिए ।

७२ औं मिनेटमा केनको प्रहारमा पोपले उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई ५ गोलको अग्रता लिन दिएनन् । इन्ज्युरी समयमा टोटेनहमले बढाएको काउन्टर अट्याकमा केन गोल गर्नबाट चुके । सनको पासमा उनको प्रहारले पोस्टको दिशा लिन सकेन ।

यस जितसँगै टोटेनहमले लगातार दुई हारको सिलसिलालाई टुंग्याएको छ । टोलीले २५ खेलमा ३९ अंक जोड्दै आठौं स्थानमा उक्लिएको छ । बर्नली भने २६ खेलमा २८ अंकसहित १५ औं स्थानमा यथावत छ ।

प्रकाशित : सोमबार, फागुन १७, २०७७०९:२९

“मेस्सीका दिन सकिए भन्नेहरुलाई मेस्सीको दह्रो झापड”