काठमाडौँ – आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १ अर्थात् आजदेखि यस वर्षको जाडोयाम अन्त्य भई प्रि–मनसुन ‘सिजन’ शुरु भएको जनाएको छ । अङ्ग्रेजी महिना मार्चदेखि शुरु हुने प्रि–मनसुन मे महिनासम्म चल्ने गर्छ ।
यो समयमा अपराह्न तथा साँझतिर मेघगर्जन÷ चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना रहने हुन्छ । विभागले मेघ गर्जन÷चट्याङ, हावाहुरी र असिना पानीबाट हुनसक्ने क्षतिबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ ।
जाडोयाम सकिएलगत्तै स्थानीय वायुको प्रभाव पर्न थालेकाले प्रि–मनसुन समय शुरु भएको मौसमविद् प्रतिभा मानन्धरले बताए। “तापक्रम बढ्न थालेकाले यसको प्रभाव देखिन थालेको हो”, उनले भने। पहाडी भेगमा प्रि–मनसुनको प्रभाव देखिए पनि अन्य स्थानमा भने त्यसको असर पर्ने छैन । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्दछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन १६ गते (आइतबार)
राती : प्रदेश १ मा सामान्य बदली रही वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ का केही स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
फाल्गुन १७ गते (सोमबार)
दिउँसो : प्रदेश १, वाग्मती, गण्डकी र सुदुर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
राती : प्रदेश १, गण्डकी र सुदुर-पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
फाल्गुन १८ गते (मंगलबार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
राती : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली र बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।