काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल)ले भदौ २६ को निर्णयमा फर्किन प्रचण्ड-नेपाल पक्षलाई आग्रह गरेका छन्।
सोमबार पोखरामा आयोजित कार्यक्रममा बोल्दै बादलले आफ्नो गल्ती सच्चाएर भदौ २६ गतेको स्थायी कमिटीको निर्णयमा फर्कन प्रचण्ड-नेपाल पक्षलाई आग्रह गरेका हुन्।
गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नेक्रममा बादलले प्रचण्ड–माधव गलत बाटोमा हिंडिरहेको भन्दै सच्चिने अन्तिम अवसर रहेको बताए। प्रचण्ड–माधव पक्षलाई आफ्नो गल्ती सच्चाएर भदौ २६ गतेको स्थायी कमिटीको निर्णयमा फर्कन उनको आग्रह छ।
उनले भने,”पार्टी एकताको निम्ति भाद्र २६ गतेको स्थायी कमिटीको बैठकले जुन निर्णय गरेको छ, एकताको पक्षमा, रुपान्तरणको पक्षमा, समृद्धिको पक्षमा आत्मआलोचनासहित भाद्र २६ गतेको त्यो निर्णयलाई तपाईंहरुले कार्यान्वयन गर्नुस् र पार्टीलाई फेरि एकताबद्ध गराउन योगदान गर्नुस्।”
१९ पेजको आरोपपत्र खडा गरेर पार्टीको प्रथम अध्यक्ष हटाउने लागेपछि समस्या भएको पनि बादलले बताए। एकपक्ष एकताको पक्षमा उभिएपनि अर्को पक्ष फुट र गुटको पक्षमा उभिरहेका उनको भनाई छ।
“एकपछि स्थायित्वको पक्षमा उभिएको भए पनि अर्को पक्ष फुट र अस्थिरताको पक्षमा उभिराखेका छन्। एकथरी कमरेडहरू फुट र गुटको पक्षमा उभिरहेका छन्। १९ पेजको आरोपपत्र खडा गरेर पार्टीको प्रथम अध्यक्ष हटाउने लागेपछि समस्या बल्झियो।”,उनले भने।
त्यस्तै बादलले अदालतको निर्णय देशको स्थायित्वको पक्षमा नभएको पनि बताएका छन्। सद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट देश अस्थीरतामा धकेलिएको उनको भनाई छ। अदालतको निर्णय देशको स्थायित्वको पक्ष नभएपनि अदालतको निर्णय आफूहरुले मान्ने उनले बताए।