पुस ५ गते दर्ता भएको अविश्वासको प्रस्तावबाट ‘ब्याक’ भयो प्रचण्ड-नेपाल समूह !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध गर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको छ। प्रचण्ड-नेपाल समूहले अर्को अविश्वासको प्रस्ताव दर्ता गराउनको लागि पुस ५ गते दर्ता गराएको अविश्वासको प्रस्ताव लिने तयारी गरेको हो।

प्रधानमन्त्री ओलीविरुद्ध अहिले दर्ता भएको प्रस्ताव प्रचण्ड-नेपाल पक्षले मात्र दर्ता गराएको हुँदा अन्य दलहरुसँग छलफल गरेर अर्को अविश्वासको प्रस्ताव दर्ता गर्ने उक्त पक्षको योजना छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनको निर्णय सर्वोच्चले बदर गरेसँगै प्रचण्ड-नेपाल समूह यति बेला नयाँ सरकारको समिकरणमा जुटेको छ।

उक्त समूह यति बेला जनता समाजवादी पार्टी र नेपाली कांग्रेसको साथ खोजिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन पनि उक्त समूहले जसपा र नेपाली कांग्रेससँग लगातार छलफल गरिरहेको छ।

ओलीको चुनौती

प्रचण्ड-नेपाल पक्ष अर्को अविश्वासको प्रस्ताव दर्ता गराउने तयारीमा जुटिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले भने प्रक्रियामा गएर आफूलाई हटाउन चुनौती दिएका छन्। सोमबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा ओलीले प्रक्रियामा गएर आफूलाई हटाउन चुनौती दिएका हुन्।

गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले विधि र पद्धति अनुसार हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको बताए। प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने ओलीको भनाई छ।

ओलीले भने,”अविश्वास प्रस्ताव राखेर हटाउने होइन, गलहत्याएर… प्रधानमन्त्री हटाउने विधि पद्धति प्रक्रिया कस्तो छ ? प्रजातान्त्रिक प्रक्रिया कस्तो छ ?”

संसदीय दलको नेताबाट समेत विधिसम्मत रुपमा हटाउन प्रचण्ड–नेपाल समूहलाई ओलीको चुनौती छ। संसदीय दलको बैठक बोलाउने उल्लेख गर्दै ओलीले विधिवत रुपमै भेट्ने बताए।

त्यस्तै ओलीले फेरी दुई तिहाइ ल्याउने दावी पनि गरेका छन्। डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउने उनको दावी छ। उनले प्रचण्ड–नेपाल समूहसँग भएको बहुमत पनि आफूले दिएको दावी गरे।

“त्यो बहुमत त मैले नै दिएको हो । एकताका लागि भनेर, महाधिवेशनबाट छानिएको हो र, चुनाव जितेर आएको कमिटी हो र ? पार्टी एकता र देश बनाउनका लागि दिएको हो ।”,उनले भने,”डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउँछौं।”

प्रकाशित : सोमबार, फागुन १७, २०७७१८:१२

“सर्वोच्चले नै प्रधानमन्त्रीको राजीनामा नदिनु भनेको छ”