काठमाडौं, प्रतिनिधिसभा बिघटन गरेयता प्रधानमन्त्री केपी शर्मा ओली हरेक दिन नयाँ–नयाँ फन्डा गरिरहेका छन् । सर्वाेच्च अदालतबाट संसद पनुस्र्थापना भएपछि संकटमा परेका उनी अझै जालझेलबाट सत्तामा टिकिरहने खेलमा लागेको कुरा उनको अभिव्यक्तिहरुबाटै थाहा हुन्छ । जति जति उनको सत्ताबाट बहिर्गमनको दिन नजिकिँदैछ, त्यतित्यति उनको छटपटी बढ्दो छ । यो समाचार दृष्टि साप्ताहिकमा प्रकाशित छ।
पुस ५ गते संसद् विघटन गरेपछि उनी पार्टी र प्रतिनिधिसभामा अल्पमतमा परेका छन् । पार्टीको केन्द्रीय कमिटी र प्रतिनिधिसभामा उनको पक्षमा चालिस प्रतिशत पनि मत छैन । त्यसैले उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी फुटाउने अध्यादेश ल्याउन सुझाव दिएको कुरा समाचार बाहिर आएको छ । देउवाले भनेझैं उनले पार्टी फोडे भने उनको साथमा रहेका सांसदहरु पनि प्रचण्ड–माधवतिर लाग्ने सम्भावना छ । ओलीले भित्रभित्रै प्रचण्ड–माधव पक्षका सांसदहरुलाई शेरबहादुर तामाङ बनाउन खोजेका छन् । भित्री षड्यन्त्रबाट पार्टी नेता कार्यकर्ताको ध्यान अन्यत्र मोड्न उनले जे पनि बोल्न थालेका छन् ।
यसका लागि अनेक भ्रम फैलाउन उनी सक्रिय छन् । सोमबार पोखरामा पुगेर सर्वसाधरणको सहानुभूति बटुल्न आफ्नो पदीय मर्यादा समेत बिर्सिएर भ्रम फैलाएका छन् । आफुमाथि भौतिक आक्रमण हुनसक्ने र जुनसुकै बेला आफु तलमाथि हुनसक्ने भावुक भाषण गरे । उनको भाषण सुनेर उनले कार्यकर्ताको सहानुभूति त बटुले होलान् तर प्रहरी भने प्रधानमन्त्रीको भाषण सुनेर आश्चर्यमा परेको छ । किनकि, सुरक्षा विश्लेषणमा प्रधानमन्त्री ओलीलाई कुनै जोखिम देखिएको छैन ।
प्रधानमन्त्री ओलीको सुरक्षामा एक सय भन्दा धेरै सुरक्षाकर्मी खटिन्छन् । सोमबार पोखरामा नै जाँदा काठमाडौंको विमानस्थलदेखि पोखरासम्म सुरक्षा व्यवस्था कडा बनाइएको थियो । डिएसपी राजन लिम्बुको कमाण्डमा उनको सुरक्षामा नेपाल प्रहरीबाट करिब ६० जना, सशस्त्र प्रहरीबाट ४० जना खटिएका छन् । यस बाहेक सेना र राष्ट्रिय अनुसन्धान विभागका पनि छन् । बुलेटप्रुफ गाडी चढेर हिँड्छन्, तर आफू नै असुरक्षित रहेको भन्ने प्रधानमन्त्रीको भाषणले सुरक्षा निकायमाथि नै उनको भरोसा नभएको देखाउँछ । कार्यकर्ताको सेन्टिमेन्टका लागि गरिएको यो भाषणप्रति सुरक्षा निकायको नेतृत्वले असन्तुष्टि जनाएको छ । साथै सर्वसाधरणले समेत प्रधानमन्त्री नै असुरक्षित रहेको देशमा जनताको के हालत होला भनेर प्रश्न गरेका छन् ।