आफूहरु प्रधानमन्त्री नबन्ने माधव नेपालको घोषणा !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालले आफू प्रधानमन्त्री नबन्ने स्पष्ट पारेका छन्। सोमबार विराटनगरमा नेपालले आफूलाई मात्र नभई आफ्नो पार्टीलाई प्रधानमन्त्री पद नचाहिएको बताएका हुन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै नेपालले प्रधानमन्त्री आफ्नै पार्टीबाट हुनुपर्छ भन्ने चाहना आफूहरुको नभएको स्पष्ट पारे। अन्य दलका व्यक्तिलाई प्रधानमन्त्री पद दिएर भएपनि प्रतिगमनलाई पराजित गर्ने पक्षमा आफूहरु रहेको उनको भनाई छ।

“हामीलाई आफैंलाई प्रधानमन्त्री चाहिँदैन। जसलाई सहमति गर्ने हो गरौं।”,उनले भने।

प्रतिगमनकारी ओलीलाई पराजित गर्न अन्य दलहरुसँग मिलेर अविश्वासको प्रस्ताव दर्ता गराउने पक्षमा रहेको पनि उनले बताए। अविश्वास प्रस्ताव सम्बन्धमा संसद् सचिवालयले निर्णय गरी प्रक्रिया अघि बढ्ने उनको भनाई छ। नेपालले पुर्नस्थापित प्रतिनिधिसभामा जुनसुकै दलले अविश्वास प्रस्ताव दर्ता गरे पनि आफूहरुले समर्थन गर्ने बताए।

“नेपाली कांग्रेस, नेकपा र समाजवादी पार्टीसँग छलफल हुन्छ । हामी वा जसले अविश्वासको प्रस्ताव दर्ता गरे पनि समर्थन हुन्छ ।”,उनले भने,”कि हामी अविश्वासको प्रस्ताव दर्ता गर्छौं, नभए तपाईंहरु दर्ता गर्नुस्, हामी साथ दिन्छौं।”

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीको समूह अल्पमतमा रहेको दावी समेत गरेका छन्। आफूहरुसँग बहुमत केन्द्रीय सदस्य रहेको भन्दै उनले बहुमत केन्द्रीय सदस्य भएको आफूहरु नै आधिकारिक भएको बताए। सानो चोइटो बालुवाटारमा बसेर विशाल पार्टी बन्न नसक्ने उनको भनाई छ।

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१४:२०

“ओलीलाई हटाउने तागत कांग्रेस र हामीसँग छैन”