“ओलीलाई हटाउने तागत कांग्रेस र हामीसँग छैन”

काठमाडौँ – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने तागत आफूहरुसँग नरहेको बताएका छन्। धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले ओलीलाई पदबाट हटाउने तागत आफूहरुसँग नरहेको बताएका हुन्।

हतोले आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन नसक्ने बताए। ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपासँग मात्रै रहेको नेता महतोको भनाई छ। नेकपा बाहेक अरु कसैले ओलीलाई हटाउन नसक्ने दावी उनले गरे।

“कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ‌ओलीलाई हटाउने नेकपाले नै हाे।”,उनले भने,”नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, दलको नेताबाट हटाउन सक्नुपर्यो नि नभए पार्टी फोरेर हटाउनुपर्यो”

नेकपाको दुवै पक्षले अन्य पक्षलाई प्रधानमन्त्री दिने दावी गर्दै आएपनि उनले त्यस माथि शंका व्यक्त गरे। नेकपाका दुवै समूहले जनतालाई झुक्याइरहेकाे उनले बताए। ओलीको विकल्प नेकपाबाटै निस्किने उनको भनाई छ।

दलीय प्रणालीमा सरकार बनाउन कुनै समूह नभई पार्टीसँग सहकार्य हुने उनको तर्क छ। नेकपा कानुनी रुपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्ष अन्य दलहरुसँग सत्ता समिकरणमा जुटेको विषय प्रति लक्षित गर्दै नेता महतोले यस्तो बताएका हुन्।

“ओलीको विकल्प नेकपाबाटै आउँछ के, अहिले जनतालाई झुक्याउने काम भइरहेको छ।”,नेता महतोले भने,”दलीय प्रणालीमा सरकार बनाउन कुनै समूहसँग सहकार्य हुँदैन, पार्टी हुनुपर्छ। कि माधव नेपाल पार्टी, प्रचण्ड–माधव पार्टी भन्नु पर्यो। तर मजाक बनाउनु भएन।”

प्रकाशित : मङ्गलबार, फागुन १८, २०७७१४:४३

साझा र समृद्ध नेपाल बनाउन सबै मिल्नुपर्छ