काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन सजिलो नरहेको बताएका छन्। मंगलबार झापा पुगेका प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन सजिलो नभएको बताएका हुन्।

मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्नेक्रममा ओलीले आफूलाई हटाउन सजिलो नभएको र हटाइहाले आउँदो चुनाव पछि तिहाइ सहित आफू फेरी सरकारमा आउने जिकिर गरे। कसैले हटाउन सके आउँदो चुनावमा दुई तिहाइका साथ फेरि सिंहदरबार फर्किने दावी उनको छ।

“कसैले हटाउन सक्छ भने अहिले हटाओस् । तर, सजिलो छैन । खुसीसाथ हट्छु । डेढ वर्षपछि त चुनाव आइहाल्छ । दुईतिहाइका साथ सिंहदबार फर्किन्छु”,ओलीले भने।

त्यस्तै ओलीले नेपाली जनताको सहजतालाई ध्यानमा राखेर सरकार बनाउनुपर्ने पनि बताएका छन्। प्रचण्डले केहि दिन अगाडी भारतलाई कम्फर्टेबल हुने सरकार आफूहरुले निर्माण गर्न लागेको भन्दै दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै ओलीले नेपाली जनतालाई कम्फर्टेबल हुने सरकार बनाउनुपर्ने बताएका हुन्।

“नेपाली जनताले दुःख पाए पाउन्, तर अर्काका लागि कम्फर्टेबल सरकार होइन, नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहियो, नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो । नेपाली जनताका लागि काम गर्ने, आवास, खानेपानी, बाटो, विद्यालय, बालबालिकालाई पुस्तक दिने सरकार चाहियो ।”,ओलीले भने,”नेपाली जनताको कम्फर्टेबल हुनुपर्यो, कम्फर्टेबल फर नेपाली पिपुल ।”

