काठमाडौँ – सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा होटल खोल्न भाडामा दिने तयारी गरिएको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको गुरुयोजना बनाएर उक्त जग्गा होटल बनाउन यती समूहलाई दिने तयारी गरेको हो। पर्यटन मन्त्रालयका एक अधिकारीका अनुसार यतीलाई जग्गा दिने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भइरहेको छ। विगतमा यतीलाई जग्गा भाडामा दिने प्रयास पटकपटक असफल भएकोमा अहिले पर्यटनमन्त्रीमा भानुभक्त ढकाल आएपछि फेरि प्रयास सुरु भएको हो। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।
यती समूहले एयरपोर्टको सिनामंगलस्थित ९२ रोपनीभन्दा बढी जग्गा २०७२ सालमै भाडामा लिने प्रयास गरेको थियो। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालाका पर्यटनमन्त्री कृपासुर शेर्पाले यती समूहलाई यो जग्गामा होटल खोल्न दिने प्रस्ताव मन्त्रिपरिषद्मा पुर्याएका थिए। तर प्रधानमन्त्री कोइराला र मुख्य सचिव सोमलाल सुवेदीले रोकेपछि प्रयास असफल भएको थियो। अहिले फेरि यो समूहलाई जग्गा भाडामा दिनेगरी सरकारले तयारी गरेको हो।
सुरक्षा संवेदनशीलताका कारण यो जग्गा होटल वा अन्य जुनसुकै प्रयोजनका लागि पनि भाडामा दिन नहुने सरोकारवाला सबैको धारणा छ। तत्कालीन मुख्य सचिव सुवेदीले २०७२ मा पर्यटनमन्त्री शेर्पाले उक्त जग्गा यती समूहलाई भाडामा दिने प्रस्ताव मन्त्रिपरिषद्मा ल्याएको जानकारी दिए। विमानस्थल अन्डर ग्राउन्ड बनाउँदा पनि उक्त जग्गा चाहिने र सुरक्षालगायतका हिसाबले पनि त्यो जग्गा निजी क्षेत्रलाई होटल सञ्चालन गर्न दिन नहुने अडान राखेपछि मन्त्री शेर्पाले आफूमाथि हात उठाउने प्रयास गरेको सुवेदीले नागरिकलाई बताए। ‘त्यसपछि प्रधानमन्त्री कोइरालाले हस्तक्षेप गर्नुपरेको थियो’, उनले भने। सबैसँगको छलफलपछि मध्यमार्गी बाटो निकालेर त्यो प्रस्तावलाई मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा पठाइएको सुवेदीले जानकारी दिए।
सरकारी उच्च स्रोतका अनुसार पाँच वर्षअघि असफल भएको प्रयासलाई अहिले सफल बनाउन यती समूह लागि परेको छ। उक्त स्रोतले प्रधानमन्त्रीमा केपी शर्मा ओली भएकै समयमा जग्गा भाडामा लिनेगरी तयारी थालिएको दाबी गरेको छ। त्यसै पनि प्रधानमन्त्री ओली यती समूहका ‘प्रिय’ भएको आरोप लाग्दै आएको छ।