काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीलाई तत्काल राजिनामा दिन सुझाव दिएका छन्।
बुधबार कोरोना भाइरस विरुद्धको खोप लगाएपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले संसद खुल्नु अगाडी नै राजिनामा दिन ओलीलाई सुझाव दिएका हुन्।
प्रचण्डले फागुन २३ गतेभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए सबै मिलेर हटाउने चेतावनी दिए। संसद विघटन जस्तो असंवैधानिक र अलोकतान्त्रिक कदम चाल्ने प्रधानमन्त्रीले पदमा बस्ने नमिल्ने जिकिर उनले गरे।
नैतिक मूल्यमान्यताको दृष्टिकोणले राजिनामा दिएर देशलाई निकास दिनुपर्ने भएपनि ओलीमा त्यस्तो प्रवृति नदेखिएको प्रचण्डको भनाई छ। ओलीलाई थोरै पनि लज्जाबोध नभएको देख्दा आफूलाई अचम्म लागेको उनले बताए। सर्वोच्च अदालतले संसद विघटनलाई गलत ठहर गरेपछि पनि ओली आफ्नै जित भए जसरी हिँडेको पनि प्रचण्डको भनाई छ।
प्रचण्डले भने,”विश्वव्यापी परम्परा र नैतिक मूल्यमान्यताको दृष्टिकोणले उहाँले राजीनामा दिएर देशलाई सहज निकास दिनुपर्ने हो, तर केपीजीमा त्यो प्रवृति थिएन, देखिएन। न्यूनतम लज्जाबोध पनि उहाँलाई भएको छैन। उहाँ अझै मैलै जितेझैँ गरी हिँड्नु भएको छ। यो दुर्भाग्य हो।”
प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी र निरंकुश तरिकाले सदन विघटन गरेपछि देशमा के होला भनेर आफूलाई चिन्ता लागेपछि सर्वोच्च अदालतले न्याय गरेको प्रचण्डले बताए।
राजनीति अझै ट्र्याकमा आउन बाँकी रहेको उनको भनाई छ। नेपाली राजनीतिमा देखिएको तुँवालो र बादल फागुन २३ गते सम्म हट्ने प्रचण्डले बताए।
“मेरो के विश्वास छ भने २३ गते पुग्दा-नपुग्दै यो अलिअलि देखिएको तुँवालो र बादल पनि चिरिन्छ र देशले नयाँ गति पैदा गर्छ। नयाँ स्थिरता र स्थायित्वसहित विकासतर्फ हामी लाग्छौं। त्यो विश्वास मेरो छ।”,उनले भने।

