विप्लवलाई महत्वपूर्ण मन्त्रालय र अन्य तीन मन्त्रालय दिने तयारी !

काठमाडौँ – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विप्लव नेतृत्वको नेकपाले सरकारी टोलीसँग पहिलो चरणको वार्ता गरेको थियो । अपराह्न दोस्रो चरणको वार्ता भएको थियो । सरकारी वार्ताटोलीका सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले कुराकानी सकारात्मक चरणमा पुगेको बताएका छन् । यसअघि सरकारी वार्ताटोलीका संयोजक गृहमन्त्री रामबहादुर थापाले सुखद परिणाम आउने अपेक्षा गरेका थिए । ‘सरकार र विप्लव समूहबीच धेरै सैद्धान्तिक र प्राविधिक विषय सहमतिनजिक रहेको छ । केही विषयमा छलफल जारी छ । छिट्टै सुखद परिणाम आउने अपेक्षा छ,’ उनले भनेका थिए ।

वार्ताका लागि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका विप्लव नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सरकारी टोलीसँग कुराकानी गरी फर्केका थिए । त्यसपछि अपराह्न ४ बजे पुनः दोस्रो चरणको वार्ता भयो । वार्तापछि दुवै पक्ष उत्साही छन् । वार्तामा विप्लव नेकपाको टोलीले पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल फुकुवा गर्न र थुनामा रहेका नेताकार्यकर्तालाई रिहा गर्न राखेको सर्तमा सरकारी पक्षले सहमति जनाएको छ । सर्तमा सहमति जनाएको सरकारी पक्षले उनीहरूसँग रहेका हतियार बुझाउन भनेको छ । वार्तामा बसेका विप्लव नेकपाका प्रतिनिधिहरूले भने आफूहरूसँग कुनै पनि प्रकारका हतियार नभएको बताएका थिए । सरकारी पक्षले विप्लव नेकपासँग हतियार भएको आशंका गर्दै आएको छ । सुरक्षा अधिकारीहरूले पनि विप्लव नेकपासँग हतियार रहेको जनाउँदै आएका छन् । ‘सरकारले हामीसँग हतियार माग्यो । हामीले हामीसँग हतियार छैन भन्यौं’, विप्लव नेतृत्वको नेकपा सम्बद्ध स्रोतले भन्यो ।

मकवानपुरको बाटो हुँदै मंगलबार काठमाडौं आएको विप्लव नेकपाको वार्ताटोलीका सदस्यलाई पूर्वमाओवादी सेनाका कमान्डर नेपबहादुर कुँवरले गृहमन्त्रीसँग सम्पर्क गराएका थिए । यसअघि गृहमन्त्रीकै सम्पर्क सूत्रको रुपमा काम गरिरहेका कुँवरले वार्ताको वातावरण बनाएका हुन् । मंगलबार बिहानदेखि नै सरकारी वार्ताटोलीसँग अप्रत्यक्ष सम्पर्कमा रहेका विप्लव समूहका प्रतिनिधिले सोही दिनको साँझ वार्ता गर्न चाहन्थे तर सरकारी पक्षले थुनामा रहेका विप्लवका नेताकार्यकर्तामाथि लागेको आरोप र उनीहरूलाई छाड्नुपर्दा पूरा गर्नुपर्ने प्रक्रियाबारे महान्यायाधिवक्तासँग सल्लाह गर्नुपर्ने भएपछि वार्ता बुधबारका लागि सारिएको थियो । महान्यायाधिवक्ता अग्नि खरेलले पक्राउ परेका विप्लव नेकपाका नेताकार्यकर्तालाई छाड्ने निर्देशिका तयार पारेको स्रोतको दाबी छ ।

प्रकाशित : बिहिबार, फागुन २०, २०७७०८:५१

राहदानी बनाउने बढ्दै, म्यानपावरमा पनि चहलपहल बढ्न थाल्यो !