विदेश जान थाले नेपालमा बनेका सुनका गरगहना !

काठमाडौं । मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार घटेकोमा विदेशमा भने यसको निर्यात हुन थालेको छ । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि नै विदेशी बजारमा यस्ता गरगहनाको निर्यात हुन थालेको भन्सार विभागको तथ्यांक छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

पछिल्लोपटक आव २०७२/७३ मा चीनमा ६१५ केजी बराबरको सुनका गरगहना निर्यात भएको थियो । त्यसपछि गत आवसम्म सुनका गरगहनाको निर्यात भएको भन्सार विभागको तथ्यांकमा देखिँदैन । यद्यपि, नगण्य मात्रामा सुनका गरगहनाको निर्यात भने भएको हुन सक्ने व्यवसायीहरू बताउँछन् । तर, चालू आवको शरूदेखि नै सुनका गरगहनाको निर्यात व्यापक मात्रामा हुन थालेको विभागको तथ्यांकले देखाएको छ ।

विभागको तथ्यांकअनुसार चालू आवको पहिलो ७ महीना अर्थात् माघसम्म रू. १५ करोड ६७ लाख ६९ हजारको सुनका गरगहना निर्यात भएको छ । यस अवधिमा साढे १२ केजी बराबरको सुनका गरगहना निर्यात भएका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका वरिष्ठ अधिकृत कृष्ण बजगाईंले पछिल्लो समय नेपालबाट सुनका गरगहना निर्यात हुन थालेको बताए । ‘गत आवसम्म यस्ता गरगहनाको त्यति निर्यात भएको देखिँदैन । तर, यस वर्ष भने यसको निर्यात भएको छ,’ उनले भने ।

चालू आवको पहिलो महीनामा रू. १ करोड ७३ लाख ७५ हजारको गरगहना निर्यात भएको थियो । त्यसपछि यस्ता गरगहनाको निर्यात बढ्दै गएको छ । विभागका अनुसार अस्ट्रेलिया, हङकङ र अमेरिकामा सुनका गरगहनाको निर्यात भएको हो ।

पछिल्लो समय ती मुुलुकमा नेपालीहरूको बसोवास बढ्दै गएको छ । उनीहरूबाट नै सुनका गरगहना माग हुने गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । ‘पछिल्लो समय अस्ट्रेलिया, अमेरिकालगायत मुलुकमा नेपालीहरूको बसोवास बढ्दो छ । उनीहरूले नै यस्ता गरगहना माग गरेपछि निर्यात हुन थालेको हो,’ उनले भने, ‘उनीहरूले विदेशमा नबन्ने गरगहनाहरू माग गर्ने गरेका छन् ।’ विदेशमा नबन्ने तिलहरी, चुरा जस्ता नेपाली मौलिक गरगहनाको निर्यात हुने गरेको उनको भनाइ छ ।

प्रकाशित : बिहिबार, फागुन २०, २०७७०९:१४

ठूला नेता र उच्च तहका व्यक्तिको सम्पत्ति छानबिन हुँदै गर्दा बेला फेरियो नेतृत्व !