नेकपाका कारण कांग्रेसमा लफडा !

काठमाडौँ – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा बाँडिएपछि नेपाली कांग्रेस आगामी दिनमा नयाँ सरकार गठनका लागि सत्ताको साँचो बन्ने देखिएको छ । दुई समूहमा बाँडिएको नेकपा कानुनी रूपमै विभाजित भएको अवस्थामा कांग्रेस नयाँ सरकार गठनका लागि मुख्य भूमिकामा पुग्नेछ । नेकपाभित्रको आन्तरिक विवाद कसरी अघि बढ्छ, स्पष्ट भइनसके पनि कांग्रेसभित्रको सत्ता राजनीतिले पार्टीका शीर्ष नेताहरू सरकारमा सहभागिताको पक्ष–विपक्षमा उभिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

नेकपाभित्रको आन्तरिक विवाद दुई वर्षअघि जस्तै अचानक एकतामा परिणत भए कांग्रेस फेरि पनि कमजोर प्रतिपक्षीको भूमिकामा रहनेछ । तर कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्वमा पुग्ने र टिकिराख्ने रणनीतिका कारण शीर्ष नेताहरू अहिले नै सरकारमा सहभागिताबारे पक्ष– विपक्षमा देखिएका छन् ।

सभापति शेरबहादुर देउवा नेकपा विभाजित भएको खण्डमा दुईमध्ये एक समूहसँग मिलेर सरकारको नेतृत्व गर्ने पक्षमा छन् । नेता रामचन्द्र पौडेल भने अहिले सरकारमा जान नहुने पक्षमा छन् । कांग्रेसको सहभागिताबिना नयाँ सरकार गठन नै नहुने अवस्थामा नेकपाको दाहाल–नेपाल समूहसँग मिलेर अघि बढ्नुपर्ने पक्षमा पौडेल र उनी निकटका नेताहरू देखिएका छन् ।

कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आएमा संसदीय दलको नेतासमेत रहेका सभापति देउवा नै मुख्य दाबेदार हुनेछन् । मुलुकको कार्यकारी प्रमुखको भूमिकामा देउवा पुग्दा भदौमा हुने पार्टीको १४औं महाधिवेशनमा त्यसको प्रभाव पर्ने पौडेल पक्षधरको बुझाइ छ । त्यस्तो अवस्थामा देउवालाई पार्टी नेतृत्वबाट विस्थापन गर्न अझै कठिन हुने ठम्याइ उनीहरूको छ । त्यसैले पौडेलसहितका नेताले जनताले पाँच वर्ष कांग्रेसलाई विपक्षमा बस्न जनमत दिएको बताउँदै आएका छन् । उनीहरू सरकारमा जानैपर्ने अवस्थामा नेतृत्व लिने होइन, मन्त्रीहरू मात्र पठाउने रणनीतिमा छन् । सभापति देउवा नेकपा कानुनी रूपमै विभाजित भए सरकारकै नेतृत्व लिने पक्षमा छन् । तर अन्य दलको नेतृत्वमा सरकारमा सहभागी नहुने बरु फेरि पनि निर्वाचनमै जाने सोचमा देउवा रहेको उनी निकटका नेताहरू बताउँछन् । सत्ताको नेतृत्व गरेर महाधिवेशनमा जाँदा पार्टी नेतृत्वमा पुग्न सहज हुने देउवाको बुझाइ छ ।

त्यही कुरा बुधबार चितवनमा आयोजित एक कार्यक्रममा सभापति देउवा र नेता पौडेलले प्रकट गरेका छन् । पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन त्यहाँ पुगेका देउवा र पौडेलले नयाँ सरकार गठन र सहभागिताबारे आपसमा फरक मत राखेका छन् । महामन्त्री शशांक कोइरालाले उक्त विषयमा खासै प्रवेश नगरे पनि देउवा र पौडेल स्पष्ट दुई धारमा देखिए ।

प्रकाशित : बिहिबार, फागुन २०, २०७७०९:३२

प्रधानमन्त्रीले कहिले लाउलान कोभिड खोप ?