काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकारले लगाएको प्रतिवन्ध हट्ने भएसँगै विप्लव सार्वजनिक हुने भएका हुन्।
सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदै सहमति भएको छ। सो सहमतिसँगै विप्लव सार्वजनिक हुने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले एउटै मञ्चबाट शुक्रबार संयुक्त सम्बोधन गर्नेछन्।
फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री ओली र नेकपा महासचिव विप्लवले सम्बोधन गर्न लागेको बताइएको छ। राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना हुने कार्यक्रममा दुवैको उपस्थित हुने र सो कार्यक्रमबाट विप्लव दुई वर्ष पछि सार्वजनिक हुनेछन्।
बिहीबारको वार्तापश्चात सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र विप्लव समूहको वार्ता टोली संयोजक एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट समेत जारी भएको छ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सरकार र विप्लव बीच सहमति भएको छ।

