काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले केहि वर्षमै वृद्धभत्ता बढाएर पाँच हजार पुर्याउने बताएका छन्। बिहिबार सिन्धुली पुगेका ओलीले वृद्धभत्ता बढाएर केहि वर्ष भित्रै पाँच हजार पुर्याइने प्रतिबद्धता व्यक्त गरेका हुन्।
बिहिबार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गरेपश्चात सभालाई सम्बोधन गर्दै ओलीले केही समयमै ५ हजार पुर्याउने बताए। ०५१ सालदेखि एक सयबाट शुरु गरिएको वृद्धभत्ता अहिले ३ हजार रहेको र आउने समयमा ५ हजार पुर्याइने ओलीको भनाई छ।
“हामीले ०५१ सालबाट वृद्धभत्ता एक सयबाट सुरु गरेका थियौँ। अहिले तीन हजार पुगेको छ। केही समयमै ५ हजार पुर्याउछौँ।”,ओलीले भने। ओलीले अन्य सामाजिक सुरक्षा भत्ता समेत बढाउने बताए। त्यस्तै ओलीले सरकारका काम ओझेलमा परेको पनि बताएका छन्। देश विकासको बाटोमा अगाडी बढिसकेको ओलीको भनाई छ।
विगतमा जस्तो नेपाली जनताले दुख र कष्ट भोग्नु नपर्ने पनि ओलीले बताए। सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको उनको दावी छ।
“अब हिजोको जस्तो नेपाली जनताका दुख, कष्टका दिन गए । सरकारले बहुआयामिक उद्देश्यका आयोजनाहरु बनाउँदै गएको छ । अरु पनि ल्याउदै जानेछ।”,उनले भने। साथै ओलीले वर्तमान राजनीतिक परिस्थितका कारण चिन्तित नहुन पनि आग्रह गरेका छन्। केही पिलो निचोरिएर जाने हुँदा आन्दोलन देशलाई सम्मृद्ध बनाउनेतिर जाने ओलीले बताए।

