काठमाडौँ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको दावी गरेका छन्। गृह जिल्ला रुपन्देही पुगेका पौडेलले संसदमा केपी शर्मा ओलीकै बहुमत रहेको दावी गरेका हुन्।
बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै पौडेलले आफूहरुसँग बहुमत रहेको मात्रै नभई अब दुई वर्ष पनि ओलीलाई नेतृत्वमा सरकार रहने दावी गरे। ओलीलाई सरकारबाट हटाउन गरिएका क्रियाकलाप निरर्थक हुने उनको भनाई छ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव पौडेलले आफ्नै दलको झण्डै दुई तिहाइको सरकार ढालेर कम्युनिष्ट इतरको सरकार बनाउन दाहाल– नेपाल समूह लागिरहेको आरोप लगाउँदै त्यो प्रयास निरर्थक हुने जिकिर उनले गरे।
“नेकपाको संसदीय दलमा मात्रै होइन, प्रधानमन्त्री ओलीका पक्षमा प्रतिनिधिसभामा पनि बहुमत छ, प्रतिनिधिसभाको बाँकी २ वर्षको कार्यकाल ओलीकै नेतृत्वमा अगाडि बढ्छ”,पौडेलले भने,”उहाँहरुले अरु पार्टीका नेताहरुलाई प्रधानमन्त्री बनाउन अफर गरिरहनु भएको छ, यो सरकार गिराएर कम्युनिष्ट इतरको सरकार बनाउने उहाँहको प्रयास निरर्थक हुनेछ ।”
संसद विघटनको निर्णय बदर भएपछि तत्कालका लागि निर्वाचन स्थगित भएपनि आउँदो चुनाव पछि पनि पुनः ओली नै अगाडी आउने उनले दावी गरे।
“अहिले प्रतिनिधिसभा पुनर्स्थापना भए पनि ढिलोमा दुई वर्षभित्र निर्वाचन हुन्छ, त्यो बेला यो पार्टीलाई मुलुक सम्हाल्ने प्रमुख शक्तिका रूपमा जनताले स्थापित गर्नेमा हामी विश्वस्त छौं।”,पौडेलले भने,”जनताले केपी शर्मा ओली नेतृत्वको पार्टीलाई नै नेकपाको बागडोर सम्हाल्न दिएका हुन् र अब पनि दिने छन् ।”