एजेन्सी – अहिले विश्व क्लब फुटबलमा सबै भन्दा बढी चर्चा कसैको भइरहेको छ भने ती पेरिस सेन्ट जर्मेन (पीएसजी)का किलियन एम्बाप्पे हुन्। सानै उमेरमा विश्वकप जित्न सफल एम्बाप्पे यति बेला युरोपका सबै ठूलो क्लबको नजरमा छन्।

पीएसजीले एम्बाप्पेको क्लबमा बस्ने अथवा छाड्ने निर्णय छिट्टै गर्न लागेको खबर बाहिरिएसँगै अन्य क्लबहरु थप उत्साहित भएको अवस्था छ। केहि समय अगाडी मात्रै पीएसजीले एम्बाप्पेलाई क्लबमै रहने अथवा अन्य क्लबमा जाने भन्ने विषयमा छिट्टै निर्णय लिने आग्रह गरेको खबर आएको थियो।

एम्बाप्पेले क्लब पीएसजीमै रहने कि अन्यत्र जाने भन्ने विषयमा निर्णय गरिसकेको खबर नआएपनि फुटबलका जानकारहरु भने विभिन्न अड्कलबाजी गरिरहेका छन्।

अन्तराष्ट्रिय केहि संचार माध्यमहरुमा चलेको चर्चा अनुसार एम्बाप्पे लालिगा र प्रिमियर लिग मध्ये एक लिगमा जान सक्छन्। लालिगा जाने निर्णय गरेको खण्डमा एम्बाप्पे रियल म्याड्रिड जाने धेरैको दावी छ। तर प्रिमियर लिग जाने निर्णय गरेको खण्डमा भने एम्बाप्पे म्यानचेस्टर युनाइटेड र लिभरपुल मध्ये एकमा जाने बताइन्छ।

प्रिमियर लिगमा क्लबको रुपमा एम्बाप्पे युनाइटेडलाई मन पराउने र प्रशिक्षकको रुपमा लिभरपुललाई मन नपाउने एक पत्रकार डन्कन क्यासल बताउँछन्।

उनका अनुसार एम्बाप्पे युनाइटेड र रियल भन्दा पनि लिभरपुल जाने सम्भावना बढी छ। लिभरपुल जाने मनस्थिति एम्बाप्पेले बनाइसकेको उनको दावी छ।

