सरकारको टुंगो कहिले ?

काठमाडौं । ‘अघिल्लो पदाधिकारी बैठकबाट उपयुक्त समयमा उपयुक्त निर्णय गर्छौँ भनेका थियौँ । तर यसपल्ट हामीले इन्जुरी टाइममा गोल गर्छौँ । मिस गर्दैनौँ’, सरकार बनाउने खेलमा निर्णायक जस्तो देखिएको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भनेका कुरा हुन् यी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुई खेमाबाट प्रधानमन्त्रीको प्रस्ताव आईरहेको बताएको कांग्रेसले अहिलेसम्म राजनीतिमा स्पष्ट दिशा दिन सकेको छैन । जसको पर्खाइमा नेकपाका दुवै पक्ष र अर्को तेस्रो दल जनता समाजवादी पार्टी पनि रहेका छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

प्रतिनिधिसभा बैठक शुरु हुन केही दिनमात्रै बाँकी रहँदा पनि सरकारका विषयमा अन्यौलता कायमै रहेको छ । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नेकपाकै पुष्कमल दाहाल–माधवकुमार नेपाल समुह लागिपरेको छ । सो समुहले आफ्नो नेतृत्वमा बन्ने सरकारलाई सहयोग गर्न कांग्रेससँग शुरुमा प्रस्ताव गरेको थियो । पुनःस्थापना भएपछि पहिलो पटक भएको भेटमा दाहाल–नेपालले राखेको यो प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवाले खासै महत्व राखेनन् ।

दाहाल–नेपाल समुहले त्यसपछि जसपालाई भेटेर सहयोग गर्न भनेपनि त्यहापनि सफलता मिलेन । दुवै दलले आफु नेतृत्वको सरकारमा चासो नदेखाएपछि यो समुह अहिले कांग्रेसलाई नै प्रधानमन्त्री बन्ने अफर गरेको छ । कांग्रेसभित्र यो विषयमा एकमत छैन । कांग्रेसभित्र सहमति नजुटे तेस्रो व्यक्तिलाई पनि प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव पठाएको एक नेताले जानकारी दिए । तर, ति व्यक्ति को हुन् भने उनले खुलाउन चाहेनन् । दाहाल–नेपाल पक्ष जसरी पनि ओलीलाई पदबाट हटाउन खोजिरहेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने प्रधानमन्त्री बन्न इच्छुक देखिएका छन् । प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्ने देउवाले विहिवार बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आफ्नो धारणा राखेका छन् । तर, प्रस्तावमा वरिष्ठ नेता रामचन्द्र पौडेलले फरक मत राखेका छन् । बुढानिलकण्ठस्थित देउवा निवासमा बसेको बैठकमा सभापति देउवाको प्रस्तावमा पौडेलले ‘कांग्रेस प्रतिपक्षको भूमिकामा रहनु नै पार्टीका लागि हितकर हुने’ बताएका हुन् ।

चितवनबाट फर्कने क्रममा भएको ढिलाईका कारण अबेरमात्रै बैठकमा पुगेका पौडेल केहीबेरमै बैठकबाट बाहिरिएका थिए । पौडेलले पार्टीमा पहिले नै निर्णय गरेर बैठक बोलाइएको भन्दै असन्तुष्टी समेत जनाएका छन् । बैठकमा कांग्रेस सभापति देउवाले आफूलाई नेकपाको दुवै समूहले प्रधानमन्त्री बन्न प्रस्ताव गरेको जानकारी गराएका थिए । नेकपाको वैधानिक विभाजनका लागि समय लाग्ने भएकोले राजनीतिक विभाजन गराउन प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नुपर्ने देउवाको भनाई थियो ।

पौडेलले भने ओलीको असंवैधानिक कदमलाई अदालतले नै तह लगाइसकेको र वैधानिक विभाजन बाँकी रहेकोले सत्तामा जान हतार गर्न नहुने बताएका थिए । नेता पौडेलले ओलीसंग राजनीतिक सहकार्य नहुने निश्चित भएपनि पार्टीभित्र पर्याप्त छलफल नभई अविश्वासको प्रस्ताव ल्याउनु प्रत्यूत्पादक हुनसक्ने बताए । पौडेलले असहमति राखेपछि बैठकले कुनै निष्कर्ष लिन सकेन । अन्य नेताहरुले संसदीय दलको बैठक शुक्रबार बस्ने भएकोले त्यसअगावै निष्कर्ष निकाल्नु उपयुक्त नहुने सुझाव राखेका थिए । ‘संसदीय दलमा पनि छलफल गर्छौ । सांसदहरुको धारणा समेत बुझेर उपयुक्त समयमा निर्णय लिनेछौ’,कांग्रेस प्रवक्ता शर्माले भने ।

प्रकाशित : शुक्रबार, फागुन २१, २०७७०९:४०

प्रधानमन्त्रीको जिम्मेवारी लिने कांग्रेसको सङ्केत !