काठमाडौँ — संसद् सचिवालयमा बिहीबार नेकपाको दुई खेमाका स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल र घनश्याम भुसालबीच संवाद चल्यो । निर्वाचन आयोगले निर्णय नगरिदिँदा विभाजनको औपचारिक चरणमा प्रवेश नगरिसकेको नेकपा जुटाउने उपाय खोज्दै पोखरेल र भुसालबीच यसअघि पनि बारम्बार छलफल भइरहेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
भुसाल–पोखरेलको भेटलगत्तै बिहीबारै संसद् सचिवालयमा अर्को दृश्य देखियो– देव गुरुङसहितका नेताहरूले नेकपा संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवासचन्द्र नेम्वाङ र सचेतक शान्ता चौधरीलाई जिम्मेवारीबाट हटाइएको निवेदन सचिवालयमा दर्ता गरे । संसद् सचिवालयमा एकै दिन देखिएका यी दुई फरक दृश्य नेकपाको दुवै खेमाभित्रको तात्कालिक परिस्थिति हो । दोस्रो पुस्ताका अधिकांश नेता र सांसदहरू विभिन्न विकल्पमा छलफल गरेर पार्टी एकता बचाउनुपर्ने पक्षमा रहेका बेला नेतृत्व पंक्ति भने आफ्नै नेताहरूलाई कारबाही गर्दै आगामी सत्ता समीकरणका लागि कांग्रेससँग सहकार्य गर्न खोजिरहेका छन् ।
दाहाल–नेपालले कांग्रेसकै नेतृत्वमा सरकार बनाउने र सभापति शेरबहादुर देउवालाई प्रस्ताव गर्ने जानकारी बुधबारको केन्द्रीय कमिटी बैठकमा दिइसकेका छन् । ‘बैठकमा नेकपा एकताबद्ध राख्ने विषयमा केही सम्भावना छ कि भन्ने कुरा उठेको थियो,’ एक केन्द्रीय कमिटी सदस्यले कान्तिपुरसँग भने, ‘तर माधव कमरेडले त्यो सम्भावना छैन । अबको प्रधानमन्त्री शेरबहादुर देउवालाई नै मानेर जाने हो भन्नुभयो । त्यसैले कतिपय साथीहरूले एकताको कुरा गरे पनि त्यो मैले सम्भव देख्दिनँ ।’
दोस्रो पुस्ताका नेताहरूले पार्टीलाई एकताबद्ध राख्न पर्दापछाडि गरेको पहल भने देखिएको दृश्यभन्दा अलि फरक छ तर अहिलेसम्म पहलभन्दा अगाडि बढ्न सकेको छैन । बिहीबार बिहान प्रधानमन्त्री ओली, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ र शंकर पोखरेलबीच बालुवाटारमा भलाकुसारी भयो । भेटमा स्थायी कमिटी सदस्य पोखरेलले नेतृत्वको विकल्प खोजेर पार्टीलाई एकताबद्ध बनाउन सकिने प्रस्ताव अर्को पक्षका नेता घनश्याम भुसालले गरेको जानकारी प्रधानमन्त्रीलाई गराए ।
प्रधानमन्त्रीले आफू त्यसका लागि तयार रहेको भन्दै छलफल अघि बढाउन संकेत गरे । ‘प्रधानमन्त्रीले पोजिटिभ ढंगले प्रस्ताव आएको हो भने ठीक छ भन्नुभएको छ,’ ओलीनिकट स्रोतले भन्यो, ‘तर उहाँले म यथार्थ थाहा पाउँछु, यो प्रयासले त्यति काम लाग्दैन है पनि भन्नुभएको छ किनभने एकताबद्ध हुने कुनै उपाय छन् कि भनेर छलफल चलिरहँदा उहाँहरूको नेतृत्वले त कारबाहीको डन्डा चलायो नि ।’

