ओलीका निर्णय फेल गराउन प्रचण्ड-नेपाल समूहको यस्तो प्रयास !

काठमाडौँ – नेकपा ओली समूहले ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने रणनीति अघि सारेपछि दाहाल–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाइएकाले उनले गरेका निर्णय लागु नगर्न भन्दै संसद् सचिवालयमा पत्र दर्ता गराएको छ। नेकपा दाहाल–नेपाल समूहका नेताले बिहीबार संसद् सचिवालय पुगेर दर्ता गराएको अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेको पत्रमा लेखिएको छ, ‘नेकपा तथा संसदीय दलको नाममा प्रधानमन्त्री ओली वा अरू कसैले गरेका वा गर्ने पत्राचार कुनै पनि कामकारबाहीलाई अनधिकृत भएको र मान्य नहुने जानकारी गराउँछु।’ चारबुँदे पत्र लिएर नेता सुरेन्द्र पाण्डे, पम्फा भुसाल, जीवनराम श्रेष्ठ, दीनानाथ शर्मालगायत संसद् सचिवालय सिंहदरबार पुगेका थिए। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ।

नेकपा संसदीय दलका कुनै पनि सदस्यलाई निष्कासनको कारबाही गर्नुपरेमा संसदीय दलको विधान २०७५ को व्यवस्थाअनुसार संघीय संसदीय दलद्वारा विधिवत् गठित बोर्डको सिफारिसमा पार्टीको अन्तरिम विधान २०७५ अनुरूप केन्द्रीय कमिटीले मात्र गर्नसक्ने स्पष्ट व्यवस्था रहेको पत्रमा उल्लेख छ। पत्रमा संघीय संसदीय दलका सदस्यलाई कारबाही गरिने भनी गरिएको प्रचारलाई अस्वीकार गरिएको छ।

दाहाल–नेपाल समूहको केन्द्रीय कमिटीमा अत्यधिक बहुमत सदस्य रहेकाले पनि सांसदलाई कारबाही हुन नसक्ने पत्रमा स्पष्ट पारिएको छ। कुनै किसिमबाट निष्कासन गरिहाले त्यो लागु नहुने पत्रमा उल्लेख छ। ‘पार्टीको साधारण सदस्यताबाट समेत निष्कासित व्यक्तिले गरेको कुनै पनि निर्देशन र निर्णय वैध नठहरिने केन्द्रीय कमिटीको फागुन १९ गते बसेको बैठकले समेत निर्णय गरेको छ,’ पत्रमा छ।

प्रकाशित : शुक्रबार, फागुन २१, २०७७१०:२१

विप्लव सार्वजनिक, हतियारबारे मौन