काठमाडौँ – सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन्। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी शुक्रबार आज बिहान सार्वजनिक भएका हुन्।
नवलपरासीबाट विप्लव शुक्रबार बिहानै काठमाडौको लागि रवाना भइसकेका छन्। विप्लव सडकमार्ग मार्फत काठमाडौँ आइरहेको बताइएको छ। काठमाडौँ आइपुगेलगतै विप्लव सिधै बालुवाटार जानेछन्। बालुवाटारमा विप्लव र प्रधानमन्त्री बीच छलफल हुनेछ। त्यसपश्चात मात्रै उनी राष्ट्रिय सभा गृहमा हुने समारोहमा सहभागी हुनेछन् ।
विसं २०७५ फागुन २८ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भूमिगत अवस्थामा थिए । बिहीबार मात्रै सरकार र चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको वार्ता सफल भएपछि पार्टीका महासचिव चन्द सार्वजनिक भएका हुन् । सार्वजनिक भएसँगै महासचिव चन्दले नवलपुरको देवुचली नगरपालिकामा रहेका शहीद परिवारसँग भेटघाटसमेत गरेका छन्।
जिल्लाको पहाडी क्षेत्रबाट शुक्रबार बिहान ३ः०० बजे उनी देवचुली नगरपालिकाको दलदलेमा आएको जनाइएको छ । देवचुलीमा सार्वजनिक भएर शहीद परिवारसँग भेटघाट गरेपछि चन्द प्रहरीको सुरक्षामा काठमाडौँ प्रस्थान गरेको प्रहरीले जनाएको छ ।