काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’लाई शुभकामना दिएका छन्।
सरकार र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहबीच तीन बुँदे सहमतिमा हस्ताक्षर भएपश्चात मुलधारको राजनीतिमा स्वागत गर्दै ओलीले विप्लवलाई शुभकामना दिएका हुन्। राष्ट्रियसभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले मुलधारको राजनीतिमा विप्लवलाई ‘पौडिन’ आउने विश्वास व्यक्त गरे।
“यस खुला परिवेशमा र राष्ट्रिय राजनीतिको मुलधारमा उहाँलाई स्वागत भन्न चाहन्छु। मलाई विश्वास छ, राजनीतिमा पौडी खेल्न विप्लवलाई आउँछ।” ,ओलीले भने,”राजनीतिमा पौडी खेलेर सफलताका साथ अगाडी बढ्नुहुनेछ भन्ने मलाई विश्वास छ। उहाँहरुलाई धेरै-धेरै शुभकामना”
सरकार र विप्लव बीच भएको सहमति पश्चात नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको पनि ओलीले बताएका छन्। शान्तिपूर्ण राजनीतिमा आउने नेत्रविक्रम चन्दको निर्णयबाट मुलुक उपलब्धिको बाटोमा अगाडी बढेको ओलीले बताए।
सरकार ढाल्न खोजिएको बारे ओलीको टिप्पणी
शुक्रबार ओलीले सरकार ढाल्न खोज्नेहरु अहिले प्रधानमन्त्री बनिदिन अन्य पार्टीका नेताहरुलाई विन्ती गर्दै हिँडेको देखेर आफूलाई अचम्म लागेको बताएका छन्। प्रचण्ड-नेपाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको विषय प्रति लक्षित गर्दै ओलीले यस्तो बताएका हुन्।