काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव दर्ता गर्नुअगाडी नै प्रधानमन्त्री पदबाट हट्न केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।
प्रचण्ड माधव पक्षको संसदीय दलको बैठकले आफूलाई संसदीय दलको नेता चयन गरेलगतै प्रचण्डले ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा दिन सुझाव दिएका हुन्।
सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले राजीनामा नदिएको खण्डमा ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने चेतवानी दिए। प्रधानमन्त्रीले राजीनामा नदिएको खण्डमा मात्रै अविश्वासको प्रस्ताव दर्ता गर्ने उनको भनाई छ। सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आइतबारको संसद् बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिन पर्ने प्रचण्डले बताए।
“अब केपी ओलीले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गर्दै आइतबारको संसद् बैठकअघि प्रधानमन्त्री पदबाट राजीनामा दिएर सहज निकास दिनुपर्छ । नत्र विकल्पको रुपमा हामी अविश्वासको प्रस्ताव लिएर जान्छौँ ।”,प्रचण्डले भने,”झन्डै १ सय १५ जना हस्ताक्षरसहितको बहुमतले मलाई दलको नेता चुनेको छ। अब ओलीले अबिलम्ब राजीनामा दिनु सहज हुन्छ । नभए हामी संविधान नियम कानूनअनुसार चल्छौं ।”
त्यस्तै प्रचण्डले आफू वैधानिक रुपमा अब संसदीय दलको नेता भएको दावी पनि गरेका छन्। प्रचण्डले आफू वैधानिक रूपमै नेकपा संसदीय दलको नेता बनेको दावी गरे।
उनले भने,”यो पटक वैधानिक ढंगबाट संसदीय दलको मैले जिम्मेवारी पाएको छु। जो माननीय सदस्यहरू भ्रममा हुनुहुन्छ, केपी गुटमा हुनुहुन्छ, जिम्मेवारीका साथ यता आउन अपिल गरेका छौं ।”

