काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई प्रधानमन्त्री बन्ने मुड नरहेको बताएका छन्। देउवा निवास बूढानीलकण्ठमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा देउवाले आफू प्रधानमन्त्री बन्ने मुडमा नरहेको बताएका हुन्।
बूढानीलकण्ठमा शनिबार विहान नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको पुस्तक विमोचन समारोहमा बोल्दै आफू प्रधानमन्त्री बन्ने दौडमा नरहेको बताए। प्रधानमन्त्री बन्ने लोभ आफूलाई नरहेको देउवाले स्पष्ट पारे। विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ रहेको देउवाको भनाई छ।
“मलाई प्रधानमन्त्री बन्ने मुड पनि छैन, लोभ पनि छैन। यसमा लाग्नु पनि छैन।”,देउवाले भने। देउवाले प्रतिपक्षीलाई पाँच वर्ष सरकारमा जाने म्याण्डेट नभएको बताउनेहरुलाई जवाफ पनि फर्काएका छन्। विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ रहेको देउवाले बताए।
“विपक्षी दलको नेता प्राइममिनिस्टर इन वेइटिङ हो। तर मलाई प्रधानमन्त्री हुने चाहना पनि छैन।”,देउवाले भने,”म प्रधानमन्त्रीको रेसमै छैन। प्रधानमन्त्री बन्न चाहेकै छैन। कतिपय साथीहरुले प्रतिपक्षीलाई पाँच वर्ष सरकारमा जाने म्याण्डेट छैन पनि भनिरहेका छन् ।त्यसो पनि होइन।”
अरुको पार्टी भित्र चलिरहेको विवादमा आफू पर्न नचाहेको पनि देउवाले स्पष्ट पारे। उनले अहिले आफूहरुले नेकपाको कुनै पनि पक्षलाई समर्थन नगर्ने बताउँदै संसदमा उनीहरुको प्रस्तुतिपछि मात्रै कांग्रेसले के गर्छ भन्ने बारेमा निर्णय गर्ने बताए।
“अर्काको झगडामा कहाँ फस्ने अहिले? यो सब कुराको अर्थ छैन।”,उनले भने,”संसदमा उनीहरु कसरी प्रस्तुत हुन्छन्, कांग्रेसले त्यही बेला उपयुक्त निर्णय गर्छ।”

