एजेन्सी – उरुग्वेका पूर्व खेलाडी डिएगो फोरलानले बार्सिलोनाबाट लुइस स्वारेजको बहिर्गमनलाई गलत भनेका छन्। एटलेटिको म्याड्रिडका समेत पूर्व खेलाडी रहेका फोरलानले लुइस स्वारेजलाई क्लबबाट निकाल्ने बार्सिलोनाको निर्णयलाई गलत भनेका हुन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा फोरलानले स्वारेजलाई बेचेर बार्सिलोनाले ठूलो गल्ती गरेको बताए। बार्सिलोनाको उक्त निर्णय स्वारेजको प्रदर्शनसँग सम्बन्धि नरहेको दावी फोरलानको छ। बार्सिलोनाबाट स्वारेजलाई प्रदर्शनका कारण निकालिएको कुरा मान्न आफू तयार नरहेको उनले बताए।

क्लबका लागि मेस्सी भन्दा बढी गोल गर्ने खेलाडीको खेल खस्किएको भन्न नमिल्ने तर्क उनले गरे। स्वारेजले एटलेटिको गएपश्चात पनि त्यस कुरालाई पुष्टि गरेको उनको बुझाई छ।

“पक्कै त्यो एकदम ठूलो गल्ती थियो। स्वारेजलाई बिक्रीमा राखेलगतै बार्सिलोनाले गलत गरिरहेको छ भन्ने मलाई लागेको थियो।”,उनले भने,”मलाई यो थाहा थियो कि त्यो स्वारेजको प्रदर्शनसँग सम्बन्धित थिएन।”

त्यस्तै फोरलानले बार्सिलोनामा स्वारेजको अभाव खड्किरहेको पनि बताएका छन्। रोनाल्डो युभेन्टस गएपछि रियल म्याड्रिडमा उनको अभाव खड्किएजस्तै अवस्थाबाट बार्सिलोना गुज्रनुपरेको उनको बुझाई छ।

“बार्सिलोनामा लुइसको अभाव खड्किरहेको छ। क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेपछि पनि त्यहाँ त्यस्तै भएको थियो।”,उनले भने,”त्यति बेला रियलबाट रोनाल्डो मात्र गएका थिएनन्, सँगै ५० गोल पनि गएको थियो।”

रोनाल्डो र स्वारेज जस्तो खेलाडीलाई प्रतिस्थापन गर्न दुई खेलाडी लाग्ने पनि उनले बताए। रोनाल्डोले क्लब छाडेपछि रियल गुज्रिएको जस्तै अवस्थाबाट बार्सिलोना रहेको उनको भनाई छ।

