काठमाडौँ – सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला प्रतिनिधिसभाको सातौँ अधिवेशन आजबाट शुरु हुँदैछ।
संवैधानिक व्यवस्थाअनुुसार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते अपराह्न ४ बजेका लागि आह्वान गरेकी थिइन्।
सर्वाेच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापनाको आदेशानुुसार प्रतिनिधिसभाको सातौँ अधिवेशन बस्न लागेको हो । यसअघि नेकपाभित्रको विवाद तीव्र भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुुस ५ गते प्रतिनिधिसभा भङ्ग गरी निर्वाचनको घोषणा गरेका थिए ।
सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच छ महिनाभन्दा बढी समय खाली हुुन नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो ।
प्रधानमन्त्रीविरूद्ध आज अविश्वास प्रस्ताव दर्ता नहुने
आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता नहुने भएको छ। संसद बसेको पहिलो दिनमै अविश्वासको प्रस्ताव ल्याउने चेतवानी दिरहेका प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले तत्काल आज नै अविश्वासको प्रस्ताव नल्याउने भएको हो।
प्रचण्ड-नेपाल पक्षका सांसदहरुका अनुसार ओली विरुद्ध आजै अविश्वासको प्रस्ताव दर्ता हुने बारे कुनै पनि जानकारी गराइएको छैन।