काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराईले वर्तमान सरकार अल्पमतमा गइसकेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा सहभागी भएर बाहिरिने क्रममा भट्टराईले वर्तमान सरकार अल्पमतमा गइसकेको बताएका हुन्।
पत्रकारहरुसँग कुराकानी गर्दै भट्टराईले सर्वोच्च अदालतबाट नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकता बारे आएको फैसलासँगै वर्तमान सरकार अल्पमतमा परेको दावी गरे। सरकार अवैधानिक भइसकेकाले अर्को सरकार निर्माणमा लाग्नुपर्ने उनको भनाई छ।
सर्वोच्च अदालतको फैसला पश्चात अन्योल थप बढेको उनले बताए। सरकारको नेतृत्वमा जनता समाजवादी पार्टीले दावी नगर्ने पनि भट्टराईले स्पष्ट पारे।
“सर्वोच्च अदालतको पछिल्लो फैसलाले थप अन्योल बढाएको छ। सरकारले आफ्नो बहुमत गुमाएको छ, ओली नेतृत्वको सरकार अल्पमतको भइसकेको छ। जनता समाजवादी सरकारको दाबी गर्दैन।”,बाबुरामले भने।
साथै भट्टराईले ओलीलाई तत्काल राजिनामा दिन पनि सुझाव दिएका छन्। अब वैकल्पिक सरकार निर्माणको लागि तयारी गरिनुपर्ने उनले बताए। उनले भने,”अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ। अब वैकल्पिक सरकार निर्माणको बाटो खोलौँ।”

