गयराती लिग लिडर एथलेटिको म्याड्रिड र रियल म्याड्रिडले एथलेटिकोको घरमा भएको म्याड्रिड डर्बीमा १-१ को बराबरी खेले। खेलको १५ औं मिनेटमा मार्कस लोरेन्टेको पासमा उत्कृष्ट गोल गर्दै लुइस सुवारेजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

एथलेटिको म्याड्रिडको घरेलु मैदान वान्डा मेट्रोपोलीटानोमा भएको खेलमा यी दुई म्याड्रिड टिमका बाहेक बार्सिलोनाका समर्थकको पनि नजर रहेको थियो। डर्बी बराबरीमा सकिएपछि सबैभन्दा धेरै फाइदा पनि बार्सिलोनालाई नै भएको छ। उक्त खेल सुरु हुनु अघि एथलेटिको, बार्सिलोना भन्दा २ अंक अगाडी थियो तर उसले बार्साको भन्दा २ खेल थोरै खेलेको थियो भने रियल म्याड्रिडले बार्सिलोना भन्दा एक खेल कम खेल्दै ३ अंक पछि थियो।

यदि हिजोको रियलले जितेको भए रियलको बार्सिलोनासँग बराबरी अंक हुन्थ्यो भने यदि उक्त खेलमा एथलेटिको विजयी भएको भए बार्सिलोना एक खेल धेरै खेलर पनि एथलेटिको भन्दा ६ अंकले पछि पर्थ्यो।

यस्तोमा बार्सिलोनाको लागि बराबरी उत्तम नतिजा भयो। पूरा खेलमा उत्कृष्ट प्रदर्शन गरेको एथलेटिकोले ८७ औं मिनेटसम्म आफ्नो अग्रता जोगाउन सफल भएको थियो। तर ८८ औं मिनेटमा रियलका कप्तान करिम बेन्जामाले गोल गर्दा एथलेटिको रियलसँग अंक बाड्न बाध्य भयो।

उक्त नतिजासँगै रियल म्याड्रिडको २६ खेलबाट ५४ अंक भएको छ भने एथलेटिकोको २५ खेलमा ५९ अंक छ। एथलेटिको लालिगा टेबलमा अझै पनि शीर्ष स्थानमा छ भने रियल तेस्रो स्थानमा रहेको छ। दोस्रो स्थानमा रहेको बार्सिलोनाको २६ खेलबाट ५६ अंक रहेको छ।

