राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएर सर्वोच्चले राजनीतिक अन्यौलता सिर्जना गरेको बताएका छन्। आज एक विज्ञप्ती जारी गर्दै उनले यो समस्याको समाधान भनेको अब प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा रहेको समेत बताए।
अध्यक्ष केसीले अदालतले एमाले र माओवादी केन्द्रलाई ब्यूँताएर राजनीतिक अन्यौल सिर्जना गरेको र यस्तो अन्यौलताको अन्त्यको लागि ओलीले प्रधानमन्त्रीको पदबाट राजीनामा दिनुपर्ने बताएका हुन्। उनले जारी गरेको विज्ञप्तीमा भनिएको छ,”जटिल समस्या र अन्यौलपूर्ण स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजिनामा दिएर यो समस्यालाई निकास दिनुपर्छ।”
साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई घटक (एमाले र माओवादी) बीच एकता गरेर सरकार गठन गर्नु नै अहिलेको उपयुक्त विकल्प हुने केसीको ठम्याई छ। विज्ञप्तीमा लेखिए अनुसार नेकपाको एकीकरण गरेर सरकार गठन गर्नु नै उपयुक्त विकल्प हो। त्यसको लागि त्यसका नेता तथा कार्यकर्ताहरु बढी जिम्मेवार बन्नुपर्ने कुरा समेत अध्यक्ष केसीले उल्लेख गरेका छन्।
त्यस्तै, नेकपाभित्रको अन्तरविरोधको प्रमुख बिउ नै ओलीको व्यक्तिवादी र अराजक कार्यशैली रहेको उनको भनाइ छ। अहिलेको समयमा नेकपा विभाजन हुँदा गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामाथि नै खतरा पैदा हुने उनले बताए।